मंसिर ६, २०८१ बिहीबार | १४:३५:२०
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन श्याम थापा विशेष

ब्वाइज युनियनसँग श्याम थापाको मायाको साइनो

सरगत

श्याम थापाले नेपालको घरेलु फुटबलमा जति खेले, खालि एकै क्लबका लागि मात्र खेले । त्यो भनेको त्रिपुरेश्वरको ब्वाइज युनियन भयो । त्यसैले जति जति बेला श्याम थापाको कुरा चल्छ, ब्वाइज युनियनको नाम पनि त्यसै त्यसै जोडिएर आउँछ । उनले १० वर्ष जति ब्वाइज युनियनका लागि खेले । त्यति बेला काठमाडौंकै अन्य क्लबले उनलाई खेलाउन प्रयास नगरेको पनि होइन् । तर कोही सफल भएनन् । यस्तो छ, श्याम थापा र ब्वाइज युनियनबीचको मायाको साइनो ।

ब्वाइज युनियनले आज भन्दा चार दशक जति अगाडि शुभजन्मोत्सव कपलाई मात्र खुबै ध्यान दिएर खेल्थ्यो । यो सबै कुरा त्यति बेलाकै हो । केही वर्ष उसले त्रिभुवन च्यालेञ्ज शिल्ड पनि उत्तिकै महत्व दिएर खेल्यो । यिनै दुई प्रतियोगिता खेल्न श्याम थापा काठमाडौं आउँथे, तात्कालीन कलकत्ताको व्यस्त फुटबलबाट केही दिनको फुर्सद निकालेर । ती दिन बितेको पनि तीन दशक जति भइसकेको छ, तर अहिलेसम्म पनि त्रिपुरेश्वतिर गएर यसो कुराकानी गर्नु पर्छ, श्याम थापासँग जोडिएका मीठा सम्झना खुबै मीठोसँग अनुभव गर्न सकिन्छ ।

तस्बीरः सुन्दर श्रेष्ठ

यहाँनिर प्रश्न उठ्छ, श्याम थापा र ब्वाइज युनियन यसरी कहिले पनि नटुट्ने गरेर सम्बन्ध कसरी गाँसियो होला ? यसका लागि ०३४ सालतिर फर्किनु पर्छ । त्यही वर्षको सुरुमा नेपालमै पनि श्याम थापाको नाम खुबै चर्चित हुन थालेको थियो र यसको कारण थियो, कलकत्तामा भएको न्युयोर्क कसमस र मोहन बगानबीचको खेल । पेले कसमसको नेतृत्व गर्दै कलकत्तामा खेल्न आएका थिए र त्यस खेलपछि उनले श्याम थापाको प्रशंसामा केही शब्द खर्चेका पनि थिए ।

त्यस वर्षको एक दिन त्रिपुरेश्वरमा के खबर आइपुग्यो भने श्याम थापा आफ्नो घर गुल्मी आएका छन्, आमा बुबालाई भेट्न । ब्वाइज युनियनका तात्कालिन अध्यक्ष बोधबहादुर क्षेत्री र श्रवण श्रेष्ठ मोटरसाइकलमा गुल्मी लागे । अहिले जस्तो काठमाडौंबाट बुटवल पाल्पा जान कहाँ सजिलो थियो र ? खुबै दुःख कष्ट गरेर श्याम थापाको घरसम्म पुगे र प्रस्ताव राखे, ब्वाइज युनियनबाट खेल्न । अपार आश्चर्यबीच श्याम थापाले पनि हुन्छ भने, अनि सुरु भयो, दुईबीचको अटुट सम्बन्ध ।

यही सम्बन्धले थप दुई व्यक्तिगत सम्बन्धलाई पनि जन्माएको थियो, हुर्काएको थियो । श्याम थापा बोधबहादुरलाई दाई भन्थे, श्रवण श्रेष्ठलाई भाइ भन्थे । अचेल श्याम थापाले ब्वाइज युनियनमा बिताएका ती दिनबारे केही सुन्नु पर्यो भने सबैभन्दा भरपर्दो माध्यम तिनै श्रवण श्रेष्ठ मात्र छन् । उनी भन्छन्, ‘त्यो बेला हामीले श्यामदाईलाई यति माया र सम्मान दियौं कि उहाँले ब्वाइज युनियन बाहेक अन्यत्रबाट कहिले पनि खेल्नु भएन् । फेरि हामीलाई उहाँले उत्तिकै माया पनि गर्नु भयो ।’

त्यति बेला ब्वाइज युनियनमा काठमाडौं बाहिरबाट जति पनि खेलाडी खेल्न आउँथे, ती सबै तिनै श्रवण श्रेष्ठकै त्रिपुरेश्वरस्थित घरमा सुत्थे, खान्थे । श्याम थापा एक जनाले भने त्यो सुविधा उपभोग गर्न पाएनन्, किनभने उनका लागि सँगै छेउको ब्लु स्टारमा एउटा कोठाको व्यवस्था गरिएको थियो । जति वर्ष श्याम थापा काठमाडौंमा रहे, त्यही कोठामा बसे । फेरि श्याम थापा कति धेरै भलाद्मी मान्छे भने ब्वाइज युनियनबाट खेल्दा कहिल्यै केही पनि लिएनन्, बरू उल्टै आफै खर्च गर्थे ।

आफ्नो इतिहासमा ब्वाइज युनियनले दुई पल्ट त्रिभुवन च्यालेन्ज शिल्ड जित्यो भने एक अवसरमा त्यही शुभजन्मोत्सव कप । फेरि एकपल्ट ब्वाइज युनियनले शुभजन्मोत्सव कपको फाइनल खेल्यो, तर जित्न भने सकेन् । त्यसमध्ये सबैभन्दा सम्झनालायक प्रदर्शन भने ०४३ सालको शुभजन्मोत्सव कपमै रह्यो । यसका धेरै कारण छन् र यसको पहिलो कारण त त्यस संस्करणको प्रतियोगिता ब्वाइज युनियनले जितेको थियो । फाइनलमा उसले भारतको गुवाहटीलाई हराएको थियो ।

फाइनलमा पराजित गुवाहटीका खेलाडीले खेलपछि एक एक गरेर श्याम थापाको खुट्टा ढोक्न बिर्सेनन् । भारतीय खेलाडीमा श्याम थापाप्रतिको सम्मान त्यस्तो थियो । त्यस दिनको फाइनलपछि श्याम थापाले कलकत्ता गएर थप केही खेल खेले र त्यहीं सधैंका लागि खेलाडी जीवनबाट संन्यासको घोषणा गरे ।

त्यही फाइनलबाट दुई खेलाडीले संन्यास लिएका थिए, एक तिनै श्याम थापा थिए । अर्का विदुर विष्ट । श्याम थापाले ०३४ सालमा पहिलो पल्ट ब्वाइज युनियनका लागि खेले, त्यो क्रम त्यही ०४३ सालसम्म चलिरह्यो । दशरथ रंगशालामा भएको फाइनलपछि ब्वाइज युनियनका खेलाडीले चारैतर्फ घुमेर दर्शकको अभिवादन स्वीकारेका थिए । ठीक त्यही बेला आफूले लगाइरहेकै जर्सिमा विदुर विष्टले श्याम थापाको हस्ताक्षर लिन भने बिर्सेनन् ।

‘त्यो दिनको प्रत्येक पल अझै पनि मेरो सम्झनामा जस्ताको त्यस्तै रहेको छ,’ श्रवण श्रेष्ठले भने । फाइनलमा पराजित गुवाहटीका खेलाडीले खेलपछि एक एक गरेर श्याम थापाको खुट्टा ढोक्न बिर्सेनन् । भारतीय खेलाडीमा श्याम थापाप्रतिको सम्मान त्यस्तो थियो । त्यस दिनको फाइनलपछि श्याम थापाले कलकत्ता गएर थप केही खेल खेले र त्यहीं सधैंका लागि खेलाडी जीवनबाट संन्यासको घोषणा गरे । यहाँनिर उल्लेखनीय घटना के रह्यो भने त्यस खेलपछि जर्सी नम्बर २२ र ७ लगाएर ब्वाइज युनियनका खेलाडीले फेरि खेलेनन् ।

श्याम थापाको नम्बर २२ थियो भने विदुर विष्टको ७ । सुरुको एक वर्ष भने श्याम थापाले २१ नम्बर लगाएर पनि खेलेका रहेछन् । श्रवण श्रेष्ठ भन्छन्, ‘अझै पनि श्यामदाइसँग नियमित सम्पर्कमा रहने गरेको छुं । उहाँका लागि म काठमाडौंको प्यारो भाइ हो । उहाँ एक महान खेलाडी त हो नै, त्यो भन्दा ठूलो निकै भलाद्मी, कसैलाई नबिझाउने मान्छे हुनु हुन्छ ।’ र, अन्त्यमा श्रवण श्रेष्ठले एउटा थप जानकारी पनि दिए, श्याम थापाको पूरा नाम रहेछ, श्याम सिं थापामगर ।