साफ वुमन्स च्याम्पियनसिप

थापा महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ वुमन्स च्याम्पियनसिपको लागि कुमार थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

काठमाडौंमा भदौ २१ देखि असोज तीन गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपको लागि एन्फाले शुक्रबार महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो ।

थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन् ।

महिला फुटबल संघकी पुर्व अध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापकको रुपमा नियुक्त गरेको एन्फाले जानकारी दिएको छ ।

एन्फाका सबै उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।

यसैगरी स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रुपमा दिनेश व्यन्जञ्कारलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै सञ्जिव सिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ ।
यसअघि  १९औं एसियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले पहिलो चरणको बन्द प्रशिक्षणमा टोली सम्हालेका थिए।