एन्फा कार्यसमिति बैठक

पाँडेलाई बर्खास्त गर्न माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १२ कार्यसमिती सदस्यले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नविन पाँडेलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

एन्फा कार्यसमितीको बैठक लगातार दोस्रो पटक स्थगित भएको हो ।असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएर आएको कार्यसमितीको पहिलो बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नविन पाँडे र कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

प्रक्रिया पूरा नगरि नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएको थियो । सोमबारका लागि तय कार्यसमिती बैठकमा वरिष्ठ उपाध्यक्षसहितका बहुमत कार्यसमिती सदस्यले यो एजेन्डा उठाउने बताइएको थियो । 

तर अध्यक्ष नेम्वाङ  अचानक बिरामी परेको भन्दै सो बैठक स्थिगित भएको थियो । सो बैठक आज बिहान पुनः बसेको थियो ।

‘अध्यक्षले उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न आग्रह गरेपछि उपस्थित १९ मध्ये १२ कार्यसमिती सदस्यले पहिलो बैठकको निर्णय सच्चाउने भन्दै हस्ताक्षर अभियान चलाएसँगै नेम्वाङ बैठक स्थगित गर्दै बाहिरिए’ , कार्यसमितीका एक सदस्यले खेलाडीलाई बताए ।

पाँडेको बर्खास्तगी माग गर्दै हस्तक्षर गर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र दिपक खतिवडा तथा सदस्यहरु महेन्द्र क्षेत्री, विकासनारायण श्रेष्ठ, पुरुशोत्तम थापा, भोजराज शाही,अनिल मल्ल, रबिन्द्र चन्द, सरिना श्रेष्ठ, भरत बुढ थापा र टीकाराम लामा रहेका छन् ।

तत्कालिन अध्यक्ष शेर्पा समूहका उपाध्यक्ष दिर्घाबहादुर केसी तथा सदस्यहरु मनिश जोशी, मणिराज विष्ट, रमेश व्यञ्जनकार र पेमा डोल्मा शेर्पाले भने पत्रमा हस्ताक्षर गरेका छैनन् । अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दावा लामा मात्र देखिएका छन् । 

एन्फा कार्यसमितीको २१  मध्ये १९ सदस्य निर्वाचित भएका छन् । अन्य दुई सदस्यका लागि भने विशेष साधरणसभामा निर्वाचन हुनेछ । 
 

आजको बैठकले सिइओ, तीन सहमहासचिव र प्रवक्ता नियुक्ती लगायत महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग(एनएसएल) को बारेमा निर्णय लिने बताइएको थियो ।