एन्फा कार्यसमिति बैठक

एन्फा कार्यसमितीको बैठक बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिती बैठक आज बस्दैछ ।

गत सोमबारका लागि तय भएको सो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ  अचानक विरामी परेपछि स्थगित भएको थियो । बैठक बिहान सात बजेबाट सातदोबाटोस्थित एन्फा मुख्यालयमा  बस्नेछ ।

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको यो बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुन्यो । १३ खुल्ला सदस्यका लागि भएको निर्वाचनमा चार जनाको मत समान भएपछि विशेष साधारणसभा बोलाएर पुनः मतदान गराउन बाँकी नै छ । बाँकी १२ जना नेम्वाङ प्यानलबाट विजयी भएको मान्ने हो भने पनि त्यहाँ स्वयम अध्यक्ष अल्पमतमा छन् ।

सुशासनको नारालाई चर्को श्वरमा घन्काएर पंकजविक्रम नेम्वाङको समूहले एन्फाको ताल्चासाँचो हात पारेको थियो । विधि र विधान प्रधान हुने भने पनि नेम्वाङ नेतृत्वमा विधानअनुसार पहिल्यै एजेन्डा पठाएर र सदस्यहरुबाट आएको सुझाव समेत समेटेर गरिन लागेको यो नै पहिलो बैठक हो ।

बैठकका लागि विभिन्न एजेन्डा तय भए पनि  छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमूख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको छ ।
चुनावमा जाँदा बनेको आफू नेतृत्वकै समूहमा फुट आइसकेका कारण अध्यक्ष नेम्वाङ चौतर्फी दबाबमा छन् । चुनावमा बनेको मोर्चाका सबैले नियुक्तिहरुमा भाग खोजिरहेको अवस्थामा आफ्नै पनि स्वार्थको भारीले थिच्दा नेम्वाङमाथि तनाव थपिएको थियो ।

चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ शेर्पालाई पराजित गर्दै नेम्वाङले नेतृत्वमा कब्जा जमाए । तर उनको पूरा प्यानल विजयी भएन ।

साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुन्यो । १३ खुल्ला सदस्यका लागि भएको निर्वाचनमा चार जनाको मत समान भएपछि विशेष साधारणसभा बोलाएर पुनः मतदान गराउन बाँकी नै छ । बाँकी १२ जना नेम्वाङ प्यानलबाट विजयी भएको मान्ने हो भने पनि त्यहाँ स्वयम अध्यक्ष अल्पमतमा  छन् ।

चुनावमा उनलाई पूर्व अध्यक्षद्धय नरेन्द्र श्रेष्ठ र गणेश थापाको आर्शिवाद प्राप्त थियो । शेर्पालाई हराएर नेम्वाङ एन्फाको अध्यक्ष चुनिनुमा मुख्य भुमिका यिनै दुई पूर्वअध्यक्षबाट प्राप्त आर्शिवादको थियो । यही आधारमा नेम्वाङ प्यानलबाट निर्वाचित भएकामध्ये १० जना श्रेष्ठ र थापासँग नजिक हुनेहरु रहेको बताइन्छ ।

चुनावी तालमेल र प्राप्त नतिजाले मिलेर जानुको विकल्प नदिए पनि एन्फा कार्यसमितिले फरक बाटो रोजेको छ । चुनाव सकिएको एक साता पनि नबित्दै नेम्वाङको नेतृत्वमा चुनावमा होमिएको समूहमा फुट आइसकेको छ । नेतृत्वले जबरजस्ती प्रक्रिया नै नपुगेको बैठकबाट अवैधानिक तरिकाले महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा जर्मन नागरिक नवीन पाँडेलाई नियुक्त गरेको आरोप छ । यही कारण पूर्व अध्यक्ष श्रेष्ठ र थापाका निकटहरु नेम्वाङसँग टाढिएका छन् ।

तर एन्फा कार्यसमितिभित्रको अंकगणितमा सबभन्दा कमजोर रहे पनि नेम्वाङहरुले श्रेष्ठ र थापा पक्षका माग सुनुवाई नगर्ने रणनीति लिएको बताइएको छ । जर्मनीबाट पाँडेले नेम्वाङको रिमोट कन्ट्रोल चलाइरहेको आरोपका बीच नेतृत्वले श्रेष्ठ÷थापा पक्षले ल्याउन चाहेका गौरव थापा, सुरेश शाह, अरुणमान जोशी, दीनेश ब्यन्जनकार र राजेन्द्र न्यौपानेहरुको बाटोमा तगारो हालेको आरोप छ ।

नेम्वाङ पक्षले पाँडेकै जोडबलमा पूर्व अध्यक्ष थापाका छोरा गौरवलाई कुनै पनि हालतमा एन्फा छिर्नबाट रोक्ने र सके प्रवक्ता नभए सह महासचिवमा भए पनि निर्वाचन समितिमा सदस्यसचिवको भूमिकामा रहेर काम गरेका बद्री भट्टराईलाई नियुक्त गर्ने रणनीति बनाएको छ ।