इटालियन सिरी ए

मिलिन्कोभिच–साभिचको गोलमा किलिनी र डिबालाको बिदाई खल्लो

मिलान । सेर्गी मिलिन्कोभिच-साभिचले इन्जुरी समयमा गरेको गोलमा लाजियोले सोमबार इटालियन सिरी ‘ए’ मा युभेन्टसलाई २-२ को बराबरी रोकेको छ ।

डुसान भ्लाहोभिच र अल्भारो मोराटाको समान एक गोलमा युभेन्टसले पहिलो हाफमा २-० को अग्रता लिएको थियो ।

लाजियोविरुद्धको खेल युभेन्टसका कप्तान जर्जियो किलिनी र पाबलो डिबालाका लागि घरेलु मैदानमा अन्तिम खेल रह्यो ।

किलिनीले गत साता कोपा इटालियाको फाइनलमा इन्टर मिलानसँग ४-२ ले निराश भएपछि यस सिजनको अन्त्यपछि युभेन्टससँगको सम्झौतामा पूर्णविराम लगाउने जनाएका थिए । 

किलिनी सन् २००४ मा युभेन्टसमा भित्रिएका थिए । यस क्रममा उनले युभेन्टसबाट २० उपाधि जितिसकेको छन् । 

उनले जुन एक मा वेम्बली रंगशालामा अर्जेन्टिनाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिने घोषणा गरिसकेका छन् । 

उनकै कप्तानीमा इटालीले युरोपियन च्याम्पियनसिप २०२० को उपाधि जितेको थियो । यद्धपी इटाली लगातार दोस्रो पटक विश्वकपमा भने स्थान बनाउन असफल भएको थियो ।

१०औं मिनेटमा भ्लाहोभिचको गोलमा युभेन्टसले अग्रता लिएको थियो । ३६औं मिनेटमा मोराटाले युभेन्टसको अग्रता दोब्बर पारेका थिए ।

५१औं मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रोको आत्मघाती गोलसँगै लाजियोको खेलमा फर्किने सम्भावना ब्युँतिएको थियो । इन्जुरी समयको छैटौं मिनेटमा मिलिन्कोभिच–साभिचले गरेको गोलमा लाजियो खेलमा फर्किएको  थियो ।

लाजियो ३७ खेलबाट ६३ अंकसहित पाँचौ स्थानमा छ भने चौथो स्थानको युभेन्टसको समान खेलमा ७० अंक छ ।