ट्वान्टी२०

पुनरागमनको लक्ष्यमा नेपाल

काठामडौं । युगान्डाविरुद्ध जारी ट्वान्टी२० शृंखलाको दोस्रो खेलमा मैदान उत्रदा नेपाल जितसहित शृंखलामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटरले सम्हालिएर खेल्न नसक्दा नेपालले युगान्डालाई नतिजा सुम्पिएको थियो ।

युगान्डाले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको नेपाल १२ रनले पराजित भएको थियो ।

खेलपछि प्रतिक्रिया दिँदै कप्तान रुबिना क्षेत्रीले टोलीमा अलराउन्डर सिता रानामगरको अभाव खड्किएको बताएकी थिइन् । 

सिता क्यानडामा सम्पन्न फेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा  सहभागि भएका कारण पहिलो खेलमा टोलीसँग थिइनन् । उनको टोली टर्नाडो वुमन्स सो प्रतियोगिताको च्याम्पियन भएको थियो । उनले मंगलबार दोस्रो खेलमा भने खेल्ने सम्भावना रहेको छ ।

नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय ट्वान्टी२० शृंखला खेलेको हो ।

पाँच ट्वान्टी२०  शृंंखलाअन्तर्गतको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शुक्रबार हुनेछ ।