एफए कप

एफए कप फाइनलः चेल्सीलाई लिभरपुलसँग बदला लिने अवसर

लन्डन । वेम्बलीमा शनिबार एफए कपको फाइनलमा चेल्सी र लिभरपुल आमने सामने हुँदा त्यसले इङलिस लिग कप फाइनलको झल्को दिनेछ ।

लिभरपुलले  फेब्रुअरीमा सम्पन्न फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० ले निराश पारेको थियो । लिभरपुल एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको लक्ष्यमा रहेको छ । 

प्रिमियर लिगमा अन्तिम चरणका दुई खेल मात्र बाँकी रहँदा लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा मात्र तीन अंकले पछि छ । 

त्यस्तै लिभरपुलले मे २८ मा च्याम्पियन्स लिग फाइनलमा रियाल  मड्रिडको सामना गर्नेछ । एफए कपको फाइनलमा चेल्सीलाई नतिजा सुम्पिएमा लिभरपुलको एकै सिजन चार उपाधि जित्ने लक्ष्यमा पूर्णविराम लाग्नेछ ।

चेल्सी भने एफए कप फाइनलको खराब लयमा पूर्णविराम लगाउन चाहन्छ । पछिल्लो दुई सिजन लगातार एफए कपको फाइनल प्रवेश गरे पनि चेल्सी क्रमशः आर्सनल र लेस्टर सिटीसँग निराश भएको थियो ।

चोटका कारण लिभरपुलका फाबिन्हो भने मैदान बाहिर रहनेछन् ।चेल्सीका भने धेरै खेलाडी चोटका कारण टोलीमा हुनेछैनन् । चेल्सीका कालुम हडसन ओडोइ र बेन चिलवाल पछिल्लो केही खेलयता चोटका कारण टोलीमा छैनन् । त्यस्तै एन्गोलो कान्टे र माटियो कोभासिच पनि मैदान उत्रनेमा दुबिधा छ । 
यस सिजन चेल्सी र लिभरपुल तीन पटक आमने सामने भएका छन् । तीन मध्ये दुई खेल बराबरीमा सकिएको थियो भने एक खेल लिभरपुलले पेनाल्टी सुटआउटमा जितेको थियो ।

लिभरपुलले सबै खाले प्रतियोगिता गरि पछिल्लो १५ खेलमा १२ खेल जितेको छ भने चेल्सीले पछिल्लो ६ खेलमा मात्र दुई खेलमा सुखद नतिजा ल्याएको छ ।