आर्सनल

मार्किन्होससँग सम्झौता नजिक आर्सनल

लन्डन । आर्सनल ब्राजिलियन युवा फरवार्ड मार्किन्होससँगको सम्झौता नजिक पुगेको छ । मार्किन्होस आर्सनलको आगामी सिजनको पहिलो अनुबन्धन हुने सम्भावना देखिएको छ ।

ब्राजिलियन क्लब साओ पाउलोमा रहेका १९ वर्षीय फरवार्ड मार्किन्होसलाई लन्डन भित्र्याउन आर्सनल ३ मिलियन पाउन्ड खर्चिन तयार देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

मार्किन्होस र आर्सनलबीच अन्तिम सम्झौता हुन बाँकी रहे पनि ब्राजिलियन विङ्गर अर्को वर्ष प्रिमियर लिग खेल्नेमा आशावादी छन् ।

फुटबल सम्बन्धी सञ्चारमाध्यम गोलका अनुसार आर्सनलले ३० लाख पाउन्ड खर्चिने मनसाय बनाइसकेको छ । सन् २०२४ सँग साओ पाउलोसँग अनुबन्धित रहेका मार्किन्होसका लागि आर्सनलको प्रस्ताव स्वीकार हुने करिब निश्चित छ ।

नीजि सम्झौतामा भने कुनै समस्या नदेखिएको गोलले दाबी गरेको छ । पछिल्लो समय चर्चामा रहेका युवा खेलाडीमध्ये एक रहेका मार्किन्होस आक्रामक शैलीका खेलाडी हुन् ।

उनी प्राय विङ्गरको भूमिकामा देखिन्छन् भने आवश्यकता अनुसार सेन्टर फरवार्डको पोजिसनमा पनि खेल्न सक्छन् । लेफ्ट फुटेड भए पनि उनका दुवै खुट्टा प्रभावशाली छन् ।

उनले साओ पाउलोबाट सन् २०२१ को जुलाईमा फ्लामेन्गोविरुद्ध डेब्यू गरेका थिए ।