स्पेनिस ला लिगा

रियालको फराकिलो जित

मड्रिड । भिनिसियस जुनियरको ह्याट्रिकप्रेरित स्पेनिस ला लिगा च्याम्पियन रियाल मड्रिडले बिहीबार लेभान्टेमाथि ६-० को फराकिलो जित निकालेको छ ।

रियाललाई नतिजा सुम्पिएसँगै लेभान्टे भने रेलिगेशनमा परेको छ ।

१३औं मिनेटमा फेरल्यान्ड मेन्डीको गोलमा रियालले अग्रता लिएको थियो । १९औं मिनेटमा करिम बेन्जेमाले रियालको अग्रता दोब्बर पारे । यस गोलसँगै बेन्जेमा रियालबाट सर्वाधिक गोलकर्ताको सुचीको दोस्रो स्थानमा रहेका राउलको तीन सय २३ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । 

३४औं मिनेटमा रोर्डिगोले रियालका लागि तेस्रो गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा भिनिसियसले रियाललाई फराकिलो जिततर्फ डोहोर्याएका थिए । ६८औं मिनेटमा भिनिसियसले रियालको अग्रता ५-० मा पुर्याए ।

खेल सकिन सात मिनेट बाँकी रहँदा भिनिसियसले ह्याट्रिक पूरा गरेसँगै रियालले सानदार जित पक्का गरेको थियो ।

शीर्ष स्थानको रियालको ३६ खेलमा ८४ अंक छ । ३६ खेलमा २९ अंक जोडेको  लेभान्टे भने रेलिगेशनमा परेको हो ।