सहिद स्मारक सी डिभिजन लिग

हामीलाई गलत देखाइयोः चन्द

काठमाडौं । रेफ्रीमाथि हातपात गरेको भन्दै विवादमा तानिएको आरसी ३२ फुटबल एकेडेमीका प्रतिनिधि रविन चन्दले आफूहरुलाई गलत रुपमा देखाइएको बताएका छन् ।

उनले खेलाडीसँगको कुराकानीमा रेफ्री एसेसर श्रीराम रन्जितकारले खेल सुरु भएदेखि नै आफ्नो खेलाडीलाई माथिबाट तुच्छ शब्दहरुको प्रयोग गरेको बताए ।

‘म भिआइपी प्यारापिटमै बसेको थियो । मैदानमा घेरथोर खिचातानी हुनु स्वभाविक हो । हिजो रेफ्री एसेसर श्रीरामको व्यबहार निकै फरक थियो । खेल सुरु भएदेखि नै उहाँले हाम्रो खेलाडीहरुलाई ठोक ठोक भन्ने खालको शब्दहरु प्रयोग गरिरहनु भएको थियो । तर, म खेल चलिरहँदा केही बोलिन,’ चन्दले भने, ‘जब फाइनल ह्विसिल बजिसकेपछि म कुरा गर्न गएको हो । खेलको बेला एग्रेसन हुनु स्वभाविक हो । तर, म अशब्द प्रयोग गर्न वा हातपातको लागि गएको होइन । खेल सकिए पछि म किन त्यस्तो शब्द प्रयोग गर्नु भएको भनेर एसेसरसँग बुझ्न गएको हो । रेफ्री एसेसर जस्तो मान्छेले खेलाडीहरुलाई लाइन लगाएर ठोक भन्न कसरी सुहाउँछ ? तर, कुरा गर्न जाँदा उल्टै मलाई धकेलियो । यही देखेर हाम्रा खेलाडी रेफ्री भएको ठाँउमा आएका हुन् । तर, बाहिर चै हाम्रा खेलाडीहरु दौडेको मात्रै देखाइयो । काठमाडाैंमा रहेको रेफ्रीहरुकाे जालो नतोडिएसम्म नेपाली फुटबलकाे विकास हुँदैन ।’

चन्दले हिजोको घटनालाई राजनीतितिर जोडिएको बताए ।

‘हिजोको घटनालाई राजनीतितिर जोडे । खासमा यथार्थ त्यो थियो । अब मलाई मिटिङ बसेर कारवाही गर्ने भन्ने कुराहरु आएको छ । लिग कमिटी निर्देशक सञ्जिव मिश्रले समेत त्यसलाई यता तानेर ठोक भने,’ चन्दले भने, ‘पछि महासचिवज्यु सँग पनि मैले कुरा गरे । राजधानीका रेफ्रीहरुले काठमाडौं बाहिरका जिल्लाहरुको क्लबलाई हेर्ने दृष्टिकोण एकदमै फरक खालको छ । किन हो ? उतैबाट सुरुमा हातपात भएपछि हाम्रा खेलाडी एग्रेसिभ भएका हुन् । तर, भिडियोमा उल्टो देखाइयो । झगडा गर्न मेरो नैतिकताले पनि दिदैनथ्यो । अब उताबाट एकपक्षिय निर्णय गर्ने पक्का छ । तर हेरम हामीले पनि अपिल गर्ने ठाउँ त होला पक्कै पनि ।’

चन्द सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष हुन् ।