सहिद स्मारक सी डिभिजन लिग

सी डिभिजन लिगः आरसी ३२ का खेलाडी म्याच अफिसियलविरुद्ध हातपातमा उत्रिएपछि...

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलअन्तर्गत पुल्चोक स्पोर्टस् क्लबसँग २–२ गोलको बराबरी खेलेसँगै आरसी ३२ फुटबल एकेडेमीका खेलाडी र अफिसियल म्याच रेफ्रि र अफिसियलविरुद्ध हातपातमा उत्रिएका छन् ।

आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको अन्तिम खेल २–२ को बराबरीमा टुङ्गिएसँगै आरसी ३२ का खेलाडी र अफिसियलले एन्फा म्याच अफिसियलविरुद्ध हात हालाहालको स्थितिमा पुगेका हुन् ।  

निर्धारित समयको खेल २–२ बराबरी भएसँगै हानाहान अवस्था सृजना भएको थियो । आरसी ३२ क्लबले दुई पटक सम्म लिएको अग्रता जोगाउन नसकेपछि टिम एक्कासी म्याच अफिसियलविरुद्ध आक्रोसित भएको थियो ।

पुल्चोक दुई पटक खेलमा फर्कदै अंक खोस्न सफल भएको थियो ।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि ६ मिनेट थपिएको इन्जुरी समयमा आरसी ३२ ले २–१ को अग्रता लियो ।

तर गोल सेलिब्रेसनपछि आरसी ३२ का अफिसियललाई कार्ड देखाउँदा समस्या निस्किएको थियो । कार्ड देखाए लगत्तै पुल्चोकले पुनः बराबरी गोल फर्कायो ।

यसपछि भिआइपी बक्समा रहेका आरसी ३२ का प्रतिनिधि रविन चन्दले रेफ्रि एसेसरविरुद्ध जाई लागेका थिए । बोल्न क्रममा उनको व्यवहार ठिक नभएपछि रिजर्भ रहेका अन्य रेफ्रीले रविनलाई रोक्ने प्रयास गरेका थिए ।

तर, आरसी ३२ का खेलाडी नै रेफ्रिविरुद्ध जाई लागेपछि मैदानमा घम्साघम्सि सुरु भएको थियो । करिब ७ मिनेट घम्साघम्सी चलेपछि स्थिति सामान्य अवस्थामा आएको थियो ।

लिग कमिटी निर्देशक सञ्जिव मिश्रले चाडै बैठक बसि यस विषयमा छानविन र कारवाही हुने खेलाडीलाई बताए ।