सहिद स्मारक सी डिभिजन लिग

आरसी ३२ को अपराजित यात्रा कायम

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमीले ओसिस क्लबलाई ४–० ले पराजित गरेको छ । आरसी ३२ लिगमा हालसम्म अपराजित छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विवेक सन्तोषीले ६३औं मिनेटमा गरेको गोलबाट आरसी ३२ ले अग्रता बनाएको थियो । ८६औं मिनेटमा प्रविन राईले आरसी ३२ को अग्रता दोब्बर पारे । यस्तै, इन्जुरी समयमा अनिस पुलामी मगर र आशिष लावतीले गोल गरेपछि आरसी ३२ ले ४–० को सहज जित निश्चित गर्यो ।

जितसँगै पाँच खेलबाट १५ अंक जोडेको आरसी ३२ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, पाँच खेल खेल्दासम्म खाता खोल्न नसकेको ओसिस भने तालिकाको पुछारमा छ ।

‘सी’ डिभिजन लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली घटुवा हुने प्रावधान छ ।