आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

एनभिए क्लब लिग: महिलातर्फ एपिएफ र पुलिस विजयी

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राजधानीमा जारी एनभिए क्लब लिग च्याम्पियनसिपको महिलातर्फ बिहीबार एभरेष्ट भलिबल क्लबलाई ३-१ सेटको नतिजामा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा एपिएफले एभरेस्टमाथि २५–१३, २५–१०, १९–२५, २५–१९ को जित निकाल्यो । प्रतियोगितामा तीन खेल खेलेको एपिएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले दुई अंक जोडेको छ ।

यस्तै, महिलातर्फको दोस्रो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्टस् क्लबलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्याे । राखेप कभर्डहलमै भएकाे खेलमा पुलिसले डायमन्डलाई २५–११, २५–१७, २५–१५ को सोझो सेटमा हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्यो ।

जितसँगै प्रतियोगितामा सतप्रतिशत नतिजा निकालेको पुलिस ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । साविक विजेता डायमन्डको मात्र एक अंक जोडेको छ ।

प्रतियोगितामा अहिले पुरुषतर्फको पहिलो खेलमा गल्कोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

दोस्रो खेलमा हेल्प नेपाल स्पोर्टस् र पुलिस तथा एपिएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका छ । खेल क्रमशः दिउँसो दुई बजे र चार बजे हुनेछ ।