च्याम्पियन्स लिग

सनसनीपूर्ण जितसहित मड्रिड फाइनलमा

मड्रिड । करिम बेन्जेमाले अतिरिक्त समयमा पेनाल्टीमार्फत निर्णायक गोल गरेसँगै रियाल मड्रिडले च्याम्पियन्स लिगको फाइनलको टिकट काटेको छ ।

बुधबार भएको सेमिफाइलनको दोस्रो लेगमा मड्रिडले इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि घरेलु मैदानमा ३–१ को सनसनीपूर्ण जित निकाल्दै समग्रमा ६–५ को जितसहित उपाधिका लागि लिभरपुलसँगको भेट पक्का गरेको हो ।

पहिलो लेगमा ४–३ को जित निकालेको सिटीले दोस्रो लेगको ७३औं मिनेटमा रियाद महारेजको गोलसँगै फाइनलको सम्भावना बलियो बनाए पनि अन्तिम मिनेटमा रोड्रिगोले दुई गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ९०औं मिनेटमा रोड्रिगोले पहिलो गोल फर्काउदा त्यसको अर्को मिनेटमा उनले नै गोल गर्दै मड्रिडलाई खेलमा फर्काएका थिए । त्यसपछि ९५औं मिनेटमा प्राप्त पेनाल्टीमा बेन्जेमाले कुनै गल्ति नगरेपछि मड्रिडले फाइनलमा स्थान पक्का गर्यो ।

सब्सिच्युट खेलाडी रोड्रिगो च्याम्पियन्स लिग नकआउट चरणको ९०औं मिनेटपछि दुई गोल गर्ने पहिलो खेलाडी बने ।

अब मड्रिडले मे २९ मा उपाधि लागि लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।