आइपिएल

बैंगलोर चौथों स्थानमा उक्लियो

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर तालिकाको चौथों स्थानमा उक्लिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन रंगशाला, पुनेमा भएको खेलमा बैंगलोरले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६० रनमात्र बनाउन सक्यो ।

चेन्नईका डेविड कोनवेले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्याउन सकेनन् । यस्तै, मोइन अलिले ३४, रितुराज गैकवाडले २८ र ड्वेन प्रेटोरियसले १३ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले तीन विकेट लिए । ग्लेन म्याक्सवेलले दुई विकेट लिँदा साहबाज अहमेद, जस हेजलउड र वनिन्दु हसरंगाले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको बैंगलोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७३ रनको योगफल तयार पारेको थियो ।

बैंगलोरका महिपाल लोम्रोरले सर्वाधिक ४२ रन बनाएका थिए । यसबाहेक, कप्तान फाफ डु प्लेसिसले ३८ रन बनाउँदा विराट कोहलीले ३०, दीनेश कार्तिकले २६ र रजत पटिदरले २१ रन जोडेका थिए ।

चेन्नईका महिस थिक्षणाले तीन विकेट लिँदा मोइन अलिले दुई र ड्वेन प्रेटोरियसले एक विकेट लिएका थिए ।

जितसँगै ११ खेलबाट १२ अंक जोडेको बैंगलोर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै, १० खेलबाट ६ अंक जोडेको चेन्नई तालिकाको नवौं स्थानमा छ ।