नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता

क्वेस्टको विजयी सुरुआत

काठमाडौं । आयोजक क्वेस्ट इन्टरनेसनल कलेजले पाँचौं संस्करण नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ ।

ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित गर्यो । क्वेस्टका ग्याल्साङ लामाले १६ अंक जोडे ।

ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।

जेभियरले केएमसीलाई ६४–२७ ले हरायो । जेभियरको जितमा रवि पौडेलले २६ अंक योगदान गरे । प्रज्ज्वल महर्जनको १५ अंक सहयोगमा गोल्डेनगेटले शुभश्रीलाई ७७–१७ को फराकिलो अन्तरले पन्छायो ।

गर्ल्सको राउन्ड रोविन लिगमा मल्पीले सायम (एसआइएएम) बाट वाक ओभर पायो । प्रतियोगिताको स्व. नारायणप्रसाद श्रेष्ठकी धर्मपत्नी एवं क्वेस्टकी सञ्चालक अनिता श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेकी थिइन् ।

प्रतियोगितामा पुरुषतर्फ ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोविन लिगका पद्दतीमा सञ्चालित महिलाको स्पर्धामा ५ टिम सहभागी छन् ।

पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने छ ।