एन्फा

जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा राई सर्वसम्मत

काठमाडौं । जिल्ला फुटबल संघ खोटाङको सोमबार सम्पन्न साधारण सभाले सर्वसम्मतिमा ध्रुव विक्रम राईलाई अध्यक्षमा चयन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त जिल्ला निर्वाचन अहिले धमाधम भइरहेको छ ।

भोजपुर जिल्ला फुटबल संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका प्रविण सुवालको पर्यवेक्षणमा सोमबार सम्पन्न साधारण सभाले अध्यक्षमा ध्रुव विक्रमसहित उपाध्यक्षमा रोसेस श्रेष्ठसँगै समीर र उद्धव राईलाई पनि चयन गरेको छ ।

आगामी चार वर्षे कार्यकालका लागि महासचिव पदमा काजीमान राई, कोषाध्यक्षमा रोशन राई, तथा सदस्यमा कमल चाम्लिङ राई, भानु राई, विनोद तिरुवा, सुमन पुमा र सनम राई निर्वाचित भएका छन् ।

यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुर, खोटाङ, सिरहालगायत जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ । बारा जिल्लामा शनिबार हुने तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त गर्छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।