एफए कप

लिभरपुलको कीर्तिमानी चार उपाधिको सम्भावना थप बलियो

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलले एकै सिजन चार उपाधि जित्ने सम्भावना थप बलियो पारेको छ ।

चेल्सीलाई पेनाल्टी सुटआउटमा निराश पार्दै इङ्लिस लिग कपको उपाधि जितेको लिभरपुल शनिबार प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई ३-२ ले निराश पार्दै एफए कपको फाइनल प्रवेश गरेको हो । 

प्रिमियर लिगमा लिभरपुल सिटी भन्दा मात्र एक अंकले पछि छ भने योर्गान क्लोपको टोलीले च्याम्पियन्स लिगको पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ । लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलमा स्पेनिस ला लिगाको क्लब भियारियालको सामना गर्नेछ ।

वेम्बलीमा सम्पन्न सेमिफाइनलमा लिभरपुलले खेलको सुरुआतबाटै सिटीलाई दबाबमा राखेको थियो ।

नावौ मिनेटमा इब्राहिमा कोनाटेले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

४५औं मिनेटमा मानेको व्यत्तिगत दोस्रो गोलमा लिभरपुलले अग्रता ३-० मा पुर्याएको थियो ।

४७औं मिनेटमा ज्याक ग्रेलिसको गोलमा सिटीले अग्रता ३-१ मा झारेको थियो । इन्जुरी समयको पहिलो मिनेटमा बर्नाडो सिल्भाको गोलमा सिटीले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । 

गत साता प्रिमियर लिगमा यी दुई टोलीले २-२ को बराबरी खेलेका थिए ।