इङ्लिस प्रिमियर लिग

युनाइटेड रोनाल्डोमा मात्र निर्भर नरहने रागनिकको प्रतिक्रिया

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रागनिकले आफ्नो टोली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको प्रदर्शनमा मात्र निर्भर नुहने प्रतिक्रिया दिएका छन् ।

रोनाल्डोले व्यवसायिक खेल जीवनको ५०औं ह्याट्रिक पूरा गरेको दिन शनिबार युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा नर्विच सिटीलाई ३-२ ले पराजित गरेको थियो ।

युनाइटेड ३२ खेलमा ५४ अंकसहित पाँचौ स्थानमा छ । जुन चौथो स्थानको टोटनहम भन्दा मात्र तीन अंक कम हो । 

इटालियन सिरी ‘ए’ को क्लब युभेन्टसबाट यसै सिजन पूर्व क्लब युनाइटेडमा पुनरागमन गरेका रोनाल्डोले प्रिमियर लिगको २६ खेलमा १५ गोल गरिसकेका छन् ।

‘रोनाल्डोले यस सिजन पूरा गरेको यो दोस्रो ह्याट्रिक हो र दुवै पटक उनको गोल निर्णायक साबित भएको छ’, रागनिकले भने, ‘यसअघि टोटनहमलाई हराउँदा पनि उनले ह्याट्रिक पूरा गरेका थिए । तर पनि हामी उनको प्रदर्शन र गोलमा मात्र निर्भर हुनु हुँदैन ।’

युनाइटेडले प्रिमियर लिगमा मंगलबार लिभरपुलको भ्रमण गर्नेछ भने नर्विचले न्युक्यासल युनाइटेडलाई आतिथ्य गर्नेछ ।