एन्फा चुनाव

एन्फा चुनाव: सी डिभिजनमा नेम्वाङको ८ भोट!

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि सी डिभिजन लिगबाट मताधिकार पाउने ९ क्लबको टुङ्गो लागेको छ ।

सी डिभिजनका १४ क्लबमध्ये ९ क्लबले मताधिकार पाउने वैधानिक व्यवस्था छ । त्यसअनुरुप शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको निर्वाचनबाट आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पक्षका आठ र वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षको एक क्लबले मताधिकार पाएको दाबी गरिएको छ ।

सी डिभिजन लिगमा वर्तमान वरीष्ठ उपाध्यक्ष नेम्बाङको पक्षमा रहेको दाबी गरिएका ८ क्लबहरू खालीबारी युथ, मनोहरा एकीकृत युथ, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन, वीरगंज युथ एकेडेमी र पुल्चोक स्पोर्ट्स क्लबले मताधिकार पाए ।

यसैगरी अध्यक्ष पदमा निरन्तरताको लक्ष्यसहित उम्मेदवारी दिने तयारीमा रहेका शेर्पा पक्षको समाज कल्याण क्लबले पनि मताधिकार पाएको छ । समाज कल्याण क्लबसँग ७-७ भोटको बराबरी भएपछि ‘टस’मा झापा दुर्भाग्शाली सावित भयो ।

सी डिभिजनबाट मताधिकारका लागि १४ टोली प्रत्यासी थिए । तीमध्ये झापासँगै रानीबन, सानोपा, साँगा र ओसिस क्लबले मताधिकार पाएनन् ।

एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् । १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।