बार्सिलोना

बार्सिलोनाले शीर्ष स्थानको मड्रिडलाई भेट्टाउन सक्ने रोनाल्डिन्होको विश्वास

बार्सिलोना । पूर्व ब्राजिलियन स्ट्राइकर रोनाल्डिन्होले स्पेनिस क्लब बार्सिलोनाले ला लिगामा शीर्ष स्थानको रियाल मड्रिडलाई भेट्टाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्य प्रशिक्षकमा जाभी हर्नान्डेजलाई नियुक्त गरेपछि लय समातेको बार्सिलोना पछिल्लो १४ खेलयता अपराजित छ । यो लयलाई कायम राख्ने क्रममा बार्सिलोनाले लिग लिडर रियाल मड्रिडलाई उसैको घरमा ४–० ले पराजित गरेको थियो ।

पाँच शीर्ष युरोपियन लिगका क्लबहरुमध्ये बार्सिलोनाले नै यो सिजनको सबैभन्दा लामो अपराजित यात्रालाई कायम राखेको छ । क्याटालन जायन्टले पछिल्लो ६ खेलमा सतप्रतिशत जित निकालेको छ ।

‘मैले जाभीको प्रशिक्षणमा बार्सिलोना लयमा फर्किएको देखिरहेको छु । जाभीको पुनरागमनले क्लबमा केही आशा दिएका छन्,’ रोनाल्डिन्होले भने, ‘उनमा गेमलाई नियन्त्रण गर्ने राम्रो कला छ । जाभीले हामीलाई फेरी बार्सिलोनाको खेल हेर्ने बनाएका छन् । २००३ ०४ को सिजन रियाललाई उसैको घरमा हराएपछि हामीले लिगमा राम्रो कमब्याक गरेका थियौं र अहिले मैले यो फेरी दोहोरिन सक्ने देखेको छु ।’

लिगको शीर्ष स्थानमा रहेको रियाल मड्रिडले ३१ खेलबाट ७२ अंक जोड्दा दोस्रो स्थानको बार्सिलोनाले ३० खेलबाट ६० अंक जोडेको छ ।