एन्फा चुनाव

एन्फा चुनाव: बी र सी डिभिजनबाट प्रतिनिधि छनोट प्रक्रिया स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न चुनावका लागि बिहीबार तय भएको बी डिभिजन लिग र सी डिभिजन लिग क्लबबाट प्रतिनिधि छनोट प्रक्रिया स्थगित भएको छ । एन्फाको निर्वाचन तालिकाअनुसार मुख्यालयमा बिहीबार दुवै लिगका क्लबहरू उपस्थित हुँदा हुँदै पनि नेतृत्वले आफू अनुकुल वातावरण नदेखिएकाले स्थगित गरेको उपाध्यक्ष वीर बहादुर खड्काले दाबी गरे ।

‘मताधिकार प्राप्त गर्न सबै क्लबहरू उपस्थित हुँदा पनि अध्यक्ष (कर्माछिरिङ शेर्पा)ले सचिवालयसँगको मिलेमतोमा चुनाव वा प्रतिनिधि छनोटछको प्रक्रिया स्थगित गरेको छ,’ उनले भने, ‘आजको प्रतिनिधि छ्नौट प्रक्रिया रोकिनु भनेको स्वच्छ निर्वाचन पद्धतिलाई धमिलो बनाउने प्रयास हो ।’

यद्यपि, एन्फाका महासचिव इन्द्रमान तुलाधरले निर्वाचन वा प्रतिनिधि छनोट प्रक्रिया स्थगित भएको आफूलाई जानकारी नभएको जानकारी दिए । ‘स्थगित भइसकेको मलाई जानकारी छैन, तर, आज नहुने सम्भावना धेरै छ ।’

दुई पटकसम्म स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत १५ गते मंगलबार भएको विशेष साधारणसभाले असारमा हुने चुनावका लागि निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गर्नुका साथै उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको थियो

एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुई पटक स्थगित भएको थियो । एन्फाले फागुन आठका लागि विशेष साधारण सभा तय गरेको थियो ।

एन्फामा महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीले दिएको निर्वाचन निर्देशिकामा केही अन्यौल भएकाले उनीहरुसँगको जुम मिटिङपछि साधारण सभा स्थगित भएको बताएका थिए ।