राष्ट्रिय महिला बिच भलिबल

एपिएफ र लुम्बिनी भिड्दै

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेलहरु हुनेछन् ।

पाल्पाको को तानसेनस्थित रानीमहलमा जारी प्रतियोगितामा पहिलो क्वर्टरफाइनलमा  समूह ‘ए’ को विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब र समूह ‘सी’ को उपविजेता लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान सात बजे सुरु हुनेछ ।

रेश्मा भण्डारी र निरुता थगुन्नाको जोडी एपिएफले यसअघि समूह चरणमा  प्रदेश एक र मधेस प्रदेशलाई क्रमशः २–१, २–० ले हराएको थियो । लुम्बिनी नेपाल पुलिससँग २–० को सोझो सेटमा हारेको थियो ।

दोस्रो क्वार्टरफाइनलमा समूह ‘बी’ को विजेता सुदूरपश्चिम प्रदेश र समूह ‘डी’ को उपविजेता बागमती प्रदेश आमनेसामने हुनेछन् । खेल बिहान आठ बजे हुनेछ ।

भागरथी जोशी र बबिता बोहराको जोडी सुदूरपश्चिमले यसअघि कर्णाली प्रदेशलाई २–० ले हराएको थियो । बागमती भने गण्डकी प्रदेशसँग सोझो सेटमा नै हारेको थियो ।

यस्तै तेस्रो खेलमा बिहान ९ बजे समूह ‘सी’ को विजेता पुलिसले समूह ‘ए’ को उपविजेता प्रदेश एकसँग खेल्नेछ । पुलिस कमला पुनको कप्तानीमा र प्रदेश एक अञ्जना लिम्बुको कप्तानीमा मैदान उत्रिनेछन् ।

शुक्रबारको अन्तिम क्वार्टरफाइनलमा समूह ‘डी’ को विजेता गण्डकी  समूह ‘बी’ को उपविजेता कर्णाली प्रदेशबीचको खेल बिहान १० बजे हुनेछ ।

अन्तिम क्वार्टरफाइनलपछि सेमिफाइनलका खेलहरु पनि शुक्रबारै हुने आयोजकले जानकारी दिएको छ ।

सञ्जय ममोरियल फाउन्डेसनको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा दुई विभाग र  सात प्रदेशको सहभागिता थियो ।

कालीगण्डकी किनारमा भइरहेको बिच भलिबलको विजेताले एक लाख रुपैंया र उपविजेताले ५० हजार रुपैंया प्राप्त गर्ने आयोजक सञ्जय ममोरियल फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताइन् ।