सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

महिला बिच भलिबलः क्वार्टरफाइनल समिकरण पूरा

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएकाे छ ।  

पाल्पाको तानसेनस्थित रानीमहलमा सम्पन्न प्रतियोगिताको बिहीबारकाे तेस्रो खेलमा समूह ‘सी’ को लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिस क्लब  क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बन्यो । पूर्व राष्ट्रिय खेलाडी कमला पुनको कप्तानीमा मैदान उत्रिएको पुलिसले लुम्बिनीलाई २१–९, २१–११ ले हरायो । पुलिससँग लुम्बिनीले पराजय भए पनि समूह ‘सी’ को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।

यस्तै, दिनको चौथों खेलमा समूह ‘ए’ को एपिएफले प्रदेश  १ लाई २१-१, १६-२१, १५-५ ले हरायो । समूह ‘ए’ मा तीन टिम रहेका कारण पूर्व राष्ट्रिय खेलाडी रेश्मा भण्डारी र निरुता थगुन्नाको जोडीले क्वार्टरफाइनल प्रवेशका लागि दिनको अन्तिम खेलमा मधेस प्रदेशसँग प्रतिस्पर्धा गरेको थियो । जसमा एपिएफले मधेसमाथि २१-५, २१-० को सोझो सेटमा सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।

समूह ‘ए’ बाट प्रदेश १ उपविजेताको रुपमा क्वार्टरफाइनल पुग्यो । दुई हार बेहोरेको मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ ।

बिहिबारको पाँचौ खेलमा समूह ‘डी’ को गण्डकी प्रदेशले बागमती प्रदेशलाई २१-६, २१-१४ को सोझो सेटमा हराउँदै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा पुग्यो । हारका बावजुत पनि बागमती उपविजेताको रुपमा क्वार्टरफाइनल पुगिसकेको छ ।

आजै भएको दिनको दोस्रो खेलमा समूह ‘बी’ को सुदूपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराउँदै समूह विजेता र कर्णाली उपविजेताको रुपमा क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

शुक्रबारदेखि प्रतियोगितामा क्वार्टरफाइनलका खेलहरु सञ्चालन हुनेछन् ।

क्वार्टरफाइनलको पहिलो खेलमा समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘सी’ को उपविजेता लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान सात बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो क्वार्टरफाइनलमा समूह ‘बी’ को विजेता सुदूपश्चिम र समूह ‘डी’ को उपविजेता बागमती, तेस्रो खेलमा समूह ‘सी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता प्रदेश एक तथा समूह ‘डी’ को विजेता गण्डकी र समूह ‘बी’ को उपविजेता कर्णालीबीच खेल हुनेछ ।