इङ्लिस प्रिमियर लिग

चेल्सीलाई केही खेलको टिकट बिक्री गर्न विशेष व्यवस्था

लन्डन । बेलायत सरकारले विशेष व्यवस्था मिलाएसँगै इङलिस प्रिमियर लिगको क्लब चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेलका साथै केही अवे खेलको टिकट बिक्री गर्ने अधिकार प्राप्त गरेको छ । 

केही समय अघि बेलायत सरकारले क्लबका मालिक रुसी अर्वपती  रोमन अब्रामोभिचको सम्पत्तीमा रोक्का लगाएसँगै चेल्सीमाथि खेलाडी किनबेच गर्न तथा टिकट बेच्न प्रतिबन्ध लागेको थियो । 

अब्रामोभिचले क्लब बेच्ने  घोषणापछि क्लबको स्वामित्वका लागि पर्याप्त चासो देखिए पनि बेलायत सरकारले प्रतिबन्ध लगाएसँगै चेल्सीको भविष्य अनिश्चित देखिदै आएको छ ।

रुसी राष्ट्रपती भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध भएका कारण बेलायत सरकारले अब्रामोभिचको सम्पतीमाथि रोक्का लगाएको जनाउँदै आएको छ । रुसले युक्रेनमाथि सैन्य कारवाही अघि बढाएपछि विश्वभरका खेलकुद निकायले रुसलाई खेल क्षेत्रबाट अलग्याउने रणनीति अवलम्बन गर्दै आएका छन् ।

बेलायत सरकारले विशेष व्यवस्था मिलाएसँगै चेल्सीले निश्चित खेलको टिकट भने बेच्नेछ । 

‘म चेल्सीका समर्थकले देखाएको धैर्यताको कदर गर्छु’, बेलायतका खेलकुदमन्त्री निगेल हडलस्टोनले भने, ‘रोमन अब्रामोभिचमाथिको प्रतिबन्ध कायम छ । हामीले क्लब खेलमा निरन्तर लागिरहोस भनेर यो व्यवस्था मिलाएका हौ ।’

यससँगै चेल्सीले रियाल मड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग क्वार्टरफाइल दुई लेग तथा वेम्बलीमा क्रिस्टल प्यालेसविरुद्ध हुन एफए कप सेमिफाइनलकोे टिकट बेच्न पाउनेछ ।