इङ्ल्यान्ड

इङ्ल्यान्ड फुटबलको सुनौलो पुस्ता बन्ने केनको चाहाना

लन्डन । इङ्ल्यान्डका कप्तान ह्यारी केनले कतार विश्वकप २०२२ को उपाधि जित्दै घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनसिप २०२० को फाइनलमा व्यहोरेको हार भुलाउनु पर्ने बताएका छन् ।

सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड त्यसयता प्रमुख प्रतियोगिताको फाइनल प्रवेश गरेको त्यो नै पहिलो पटक थियो । 

कोभिड १९ महामारीका कारण निर्धारित समय भन्दा एक वर्ष पछि सम्पन्न भएको युरोपियन च्याम्पियनसिपको फाइनलमा इङ्ल्यान्ड इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । 

सन् २०१८ को रुस विश्वकपमा भने गारेथ साउथगेटको टोलीले  सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । गारेथको टोलीले अपराजित रहँदै कतार विश्वकपको टिकट काटेको थियो ।

इङ्ल्यान्डले आगामी साता स्विट्जरल्यान्ड र आइभोरी कोस्टविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । 

छनोटको अन्तिम दुई खेलमा केनले सात गोल गरेका थिए । केनले इङ्ल्यान्डबाट हाल सम्म ४८ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । वाइन रुनीको नाममा रहेको ५३ गोलको कीर्तिमान तोड्न उनी मात्र ६ गोलले पछि छन् ।

‘हामी सन् २०१८ को विश्वकपमा पनि बलियो थियौ र यस पटक पनि हामी उपाधिको दाबेदार हौ’, केनले भने, 'टोलीमा धेरै परिवर्तन आइसकेको छ तर क्षमतावान खेलाडीको कमी भने छैन । यस पटक हामी समर्थकलाई निराश पार्नेछैनौ । गत वर्ष घरेलु मैदानमा व्यहोरको हारको पिडा भुलाउन पनि हामी विश्वकप उपाधि जित्न चाहन्छौ । टोलीमा धेरै सुधार भैसकेको छ । इङ्ल्यान्ड फुटबलमा हामी सुनौलो पुस्ता बन्न चाहन्छौ ।