राष्ट्रिय महिला लिग

बामे सर्दै गरेको महिला लिग र सावित्राको पुनरागमन

काठमाडौं । नेपाली फुटबलमा आमुल परिवर्तनको आश्वासनसहित चेन्ज एन्फाको नारा लिएर चार वर्षअघि अखिल नेपाल फुटबल संघको सत्तामा पुगेको नेतृत्वको कार्यकाल सकिन लागे पनि पुरुषको तुलनामा महिला फुटबलले महत्व पाउन सकेको छैन ।

त्यसोत, नेपालमा महिला फुटबल कहिल्यै पनि महत्वमा थिएन् । महिला फुटबलले पनि महत्व पाउन थालेको, महिलाका लागि पनि छिटफुट गतिविधि हुन थालेको धेरै भएको छैन । पुरुषतर्फ लिगले ४३ संस्करण पूरा गरिसक्दा महिलातर्फ भने पाँच पटक मात्र लिग भएको छ । त्यो पनि सुरुका तीन संस्करण त लिग भन्नै लाज मान्नुपर्ने अवस्थामा भएका थिए । लिग भन्दा नाक नखुम्च्याई भन्न सकिने गरीको भने बिहीबार चितवनमा सुरु हुने महिला लिग दोस्रो हो ।

चितवनमा सुरु भएर विराटनगरमा पनि केही खेल गराइने महिला राष्ट्रिय लिगमा यसपाली आठ टोलीको सहभागिता रहनेछ । जसमा साविक विजेता एपिएफसहित उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको विजेताको रुपमा छानिएको धनगढी र उपविजेता ललितपुर महानगरपालिकासहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, विराटनगर र वालिङले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष लिगअन्तर्गत विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्धको खेलमा घुँडामा गम्भीर चोट लागेपछि मैदान वाहिर रहँदै आएकी नेपाली महिला फुटबलकी सुपरस्टार सावित्रा भण्डारी (साम्बा) बिहीबारबाट सुरु हुने लिगमार्फत मैदान फर्किने तयारीमा छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत महिला विधामा मंगलबार दशककै सर्वोत्कृष्ट खेलाडी घोषित साम्बाले यसबीचमा कतारमा शल्यक्रिया गराएर फर्किएकी थिइन । उपाधि रक्षाको अभियानमा सशस्त्र प्रहरी बलको एपिएफलाई साम्बाको पुनरागमन महत्वपूर्ण हुन सक्छ ।

इतिहास पल्टाउँदा महिला राष्ट्रिय लिगको उमेर सानै छ । २०६२ सालबाट एनसेल कप राष्ट्रिय च्याम्पियनसिपका नाममा महिला लिग भएको एन्फाको डकुमेन्टमा दर्ज छ । तर नेपाली फुटबलको सर्वोच्च निकायको प्राथमिकतामा नपर्दा त्यसले निरन्तरता पाउन सकेन । महिला फुटबलमा निरन्तरता पाएको एउटै विषय भनेको एपिएफको सफलता हो । रोकिँदै–हुँदै गरी अघि बढेको महिला फुटबलमा एपिएफ अधिकांस प्रतियोगिताको च्याम्पियन टोली हो ।

पहिलो पटक २०६२ मा प्रतियोगिता हुँदा तीन विभाग त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब तथा पाँच विकास क्षेत्रका टिमले सहभागिता जनाएका थिए । जहाँ एपिएफ च्याम्पियन भएको थियो ।

२०६९ सालमा एन्फाको स्वीकृतिमा धनगढीमा महिला राष्ट्रिय लिग हुँदा पनि सात वर्षअघि भएको अघिल्लो संस्करणकै आठ टोली सहभागि थिए । त्यतिबेला एपिएफलाई १–० को नतिजामा निराश पार्दै विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबले उपाधिमा कब्जा जमायो ।

सुरुका दुई संस्करणमा विना कुनै मापदण्ड भएकै टोलीलाई सहभागी गराइएको थियो । त्यसकारण एन्फा स्वयमले पनि पहिलो दुई संस्करणलाई ‘प्रोपर’ राष्ट्रिय लिग मानेको छैन । त्यसपछि पनि लगातार २०७२, २०७४, २०७५ र २०७७ सालमा महिला राष्ट्रिय लिगकै नाममा प्रतियोगिताहरु भइरहे ।

तर, २०७७ मा पहिलो पटक उपमेयर कप महिला राष्ट्रिय लिग छनोटका नाममा प्रतियोगिता गराएर लिगका लागि दुई टिम छनोट गर्ने व्यवस्था सुरु गरियो । यही कारण गत वर्षको प्रतियोगितालाई वास्तविकतामा महिला राष्ट्रिय लिगको पहिलो संस्करण मानिन्छ । गत वर्ष अलिकती ढंगका साथ भएको त्यो लिगमा तीन विभाग आर्मी, पुलिस, एपिएफ तथा विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र चौदण्डीगढी गरी सात टोली सहभागी थिए ।

‘गत वर्षबाट उपमेयर कपबाट दुई टिम छनोट गर्दै राष्ट्रिय लिग गराउन सुरु गरेका थियौ,’ महिला विभागका प्राविधिक निर्देशक हरी खड्काले खेलाडीलाई भने, ‘पहिला छनोट चरण हुँदैनथ्यो । तर यो कुरामा म पक्का भने छैन । किनकी हामीकहाँ प्रोपर इतिहास राख्ने परम्परा छैन । हामी महिला फुटबल र लिगलाई सुधार गर्दै अगाडि बढाइरहेका छौं ।’

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको मापदण्ड अनुसार लिगमा कम्तिमा ९२ वटा खेल हुनु पर्ने र तीनदेखि चार महिनासम्म सञ्चालन हुनु पर्ने प्रावधान छ । त्यहीं प्रावधान केही हदसम्म पालना गर्ने प्रयासमा २०७७ माघ सातदेखि फागुन सात गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन भएको थियो ।

‘पहिलेभन्दा अहिले धेरै सुधार भइरहेको छ । छोटो समयको लिग पर्याप्त हुँदैन । फिफाको प्रावधान अनुसार ९२ खेल र तीनेदेखि चार महिना खेलाउनु पर्ने हो, त्यसैले हामीले अहिले लिगलाई यो पद्दतिमा ढालिरहेका छौ,’ राष्ट्रिय महिला फुटबल टोलीका पूर्व प्रशिक्षक खड्काले भने ।

पहिलो संस्करणमा एपिएफ, पुलिस, आर्मी, विराटनगर, वालिङ, चौदण्डीगढी र चन्द्रपुर गरी सात टोली पहिलो संस्करणमा सहभागी थिए । एपिएफले जितेको त्यो संस्करणमा ४२ खेल भएका थिए ।

राष्ट्रिय लिग तथा घरेलु प्रतियोगितामा सर्वाधिक सफल टोली एपिएफले चार पटक उपाधि जितिसकेको छ । एपिएफ २०६२, २०७४, २०७५ र २०७७ को लिग च्याम्पियन हो ।