एनएसजेफ स्पाेर्टस अवार्ड

फुटबल टिम वर्षको उत्कृष्ट

काठमाडौं । पूरा मानवजातिमाथि नै संकट निम्त्याउने गरी कोभिड १९ को महामारी सुरु हुँदा अघिल्लो वर्ष जनजीवन निक्कै कष्टकर थियो । सामाजिक जीवन त थिएन नै । पूरा विश्व लकडाउनमा थियो । मानिसहरु घरमै थुनिएका थिए । मानिसले मानिसलाई भेटन नहुने समय थियो ।

पूरा विश्वभर सामान्य जनजीवन बर्जित हुँदा जमघट हुने सबैखाले कृयाकलाप बन्द थिए । खेलकुद कोभिड १९ को सबभन्दा ठूलो तारो थियो । घरघरमै थुनिएका निराश मानिसहरुलाई मन बहलाउनका लागि अध्ययन, टेलिभिजन र इन्टरनेटको मात्र साहारा थियो ।

नेपाली खेलकुद पनि महामारीबाट पूर्ण रुपमा प्रभावित भयो । एउटै टिममा ११ जना खेलाडी मैदान उत्रिनुपर्ने, बेन्चमा पनि कम्तिमा सात खेलाडी हुने फुटबल बिथोलिनु स्वभाविक थियो ।

महामारीकै कारण एसियाली महारथी अस्ट्रेलियाविरुद्ध दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटको घरेलु खेल अन्तिम समयमा रद्ध भयो । जसबाट सबभन्दा बढि नेपाली समर्थकहरु निराश भए ।

त्यही निराशा मेटाउन होला अखिल नेपाल फुटबल संघले गत वर्ष चैतमा दशरथ रंगशालामै बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको २३ वर्ष मुनिको टोली बोलाएर त्रिदेशीय कप आयोजना गर्यो । जसमा नेपाल च्याम्पियन बन्यो ।

महामारीको तनाबका बीच समग्र नेपालीलाई खुसी दिन सफल भएकै कारण नेपाली राष्ट्रिय फुटबल टोलीले ‘टिम अफ दी इयर’को सम्मान हासिल गरेको हो ।