फ्रेन्च लिग वान

पिएसजीमाथि मोनाकोको सान

पेरिस । फ्रेन्च लिग वानमा आइतबार मोनाकोले लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) माथि ३–० को सहज जित निकालेको छ । सबैखाले प्रतियाेगितामा गरी यो पिएसजीको लगातार चौथो अवे पराजय हो ।

वसिम येडरले दुई र केभिन भोल्यान्डले एक गोल गरेपछि मोनाकोले पिएसजीविरुद्ध सहज जित निश्चित गर्यो ।

मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होको टोली लियोनल मेसी बीनै मैदान उत्रिएको थियो । यसैकारण पोचेटिन्होले किलियन एमबाप्पे र नेइमारसँगै जर्जिन्हो विजनाल्डमलाई फाइनल थर्डको जिम्मेवारी सुम्पिएका थिए ।

जितका बावजुद मोनाको तालिकाको सातौं स्थानमा छ । जुन शीर्ष स्थानको पिएसजीभन्दा २१ अंकले कम हो । मोनाकोले २९ खेलबाट ४४ अंक जोड्दा समान खेलबाट पिएसजीले ६५ अंक जोडेको छ ।