सहिद स्मारक ‘ए’ डिभिजन लिग

च्यासलमाथि मछिन्द्रको सहज अग्रता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको जारी खेलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले रेलिगेशनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई अग्रता दिलाउने क्रममा स्ट्राइकर विमल घर्तीमगरले १६ औं मिनेटमा गोल गरेका थिए । रक्षक रञ्जित धिमालको कर्नरमा विमलले हेडरमार्फत बललाई जाली चुमाएका थिए । 

३५औं मिनेटमा सुनिल बलले विमलको पासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । 

यसअघि १२औं मिनेटमा पहिलो रोजाईका गोलकिपर अर्पन कार्की खुट्टाको चोटका कारण मैदानबाट बाहिरएपछि च्यासल निराश भएको थियो । विमलसँग जुध्दा अर्पन घाइते भएका थिए । उनको स्थानमा दोस्रो रोजाईका गोलकिपर प्रदिप भण्डारी मैदान प्रवेश गरेका थिए ।

२४औं मिनेटमा सुनिलको फ्रिकिक च्यसालका प्रदिपले रोक्दा मछिन्द्रले अग्रता बढाउने अवसर गुमाएको थियो । 

३९औं मिनेटमा मोसा अब्बाको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोक्दा च्यासलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

मछिन्द्र नौ खेलमा २३ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा मात्र ५ अंक बटुलेको च्यासल अन्तिम स्थानमा छ ।