रियाल मड्रिड

बेल र इस्कोले रियाल छाड्ने चर्चा

मड्रिड । जनवरी ट्रान्सफर विन्डो खुल्न लागेसँगै रियाल मड्रिडबाट इस्को र ग्यारेथ बेल बाहिरिने चर्चा सुरु भएको छ । दुवै खेलाडीको लस ब्लान्कोससँगको सम्झौता आगामी जुन ३० मा सकिने छ र क्लबले नवीकरण गर्नमा चासो पनि देखाएको छैन ।

यी दुई खेलाडीसँगै कप्तान मार्सेलोले पनि क्लब छाड्न सक्ने स्पेनिस फुटबल म्यागजिन मार्काले बताएको छ । र, कप्तानले गरेको जुनसुकै निर्णयको मड्रिडले सम्मान गर्नेछ ।

म्यारियानो डियाज, लुका जोभिच र इडेन हाजार्ड भने प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाका हिस्सा बनेका छन् । तर, बाँकी खेलाडीका लागि भने लस ब्लान्कोसले बाहिरिनका लागि ढोका खुला राख्ने बुझिएको मार्काको दाबी छ ।

विगतमा अल्भारो ओड्रियोजोला र मार्टिन ओडेगार्डलाई पनि क्लबले अन्य क्लबमा जानका लागि मार्ग प्रशस्त गरिदिएको थियो । इस्को, मार्सेलो र बेलले जुन अन्तिममा सम्झौता गुज्रिएर क्लब छाड्ने छन् । र, त्यसअघि नै केही रकम लिएर उनीहरूलाई रियालले विदा गर्ने सम्भावना छ ।