एसेस शृंखला

स्टाफलाई कोरोना संक्रमणका बाबजुद टेस्ट जारी

सिड्नी । इङ्ल्यान्ड क्रिकेट टोलीका दुई स्टाफ तथा स्टाफका अन्य दुई परिवारका सदस्यमा कोभिड १९ संक्रमण देखिए पनि खेलाडीहरूको नतिजा नेगेटिभ आएपछि ‘बक्सिङ डे’ टेस्टको दोस्रो दिन सुरु भएको छ । यद्यपि, कोभिडको प्रभाव देखिन थालेपछि शृंखलाअन्तर्गतका आउँदा खेल कसरी सञ्चालन हुन्छन् भन्ने प्रश्न उठेको छ ।

टेस्ट निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरि सुरु भएको थियो । स्टाफमा कोभिड संक्रमण पुष्टि भएपछि टोलीका सबै खेलाडीको कोभिड परीक्षण गर्नु परेका कारण इङ्ल्यान्डको टिम ढिलो मैदान उपस्थित भएको थियो ।

‘क्रिकेट अस्ट्रेलिया (सिए) इङ्लिस टोलीका दुई स्टाफ तथा स्टाफका अन्य दुई पारिवारिक सदस्यमा कोभिड १९ पुष्टि भएको जानकारी दिन चाहन्छ,’ सिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड पुष्टि भएका व्यक्ति आइसोलेसन बसिसकेका छन् । त्यसबाहेक अन्य स्टाफको र्यापिड एन्टिजेन कोभिड रिर्पोट भने नेगेटिभ आएको छ । इङ्ल्यान्ड क्रिकेट टोलीको आजै पिसीआर टेस्ट हुनेछ र दुबै टोलीले खेलका दौरान अतिरिक्त सावधानी अपनाउने छन् । दुवै टोलीको सुरुआती टोलीमा कुनै परिवर्तन भएको छैन् ।’

त्यस्तै सिएका प्रमुख कार्यकारी अधिकृत निक हक्ली दोस्रो दिनको खेल सुरु भएपछि शृंखलाले निरन्तरता पाउनेमा विश्वस्त देखिए ।

‘शृंखला रोकिन्छ भन्ने बारे मैले सोचेको छैन् । हामी कोभिड नियन्त्रणका लागि जारी नियमका कारण शृंखलाले निरन्तरता पाउनेमा विश्वस्त छौं,’ निक हक्लीले भने ।