सहिद स्मारक ‘ए’ डिभिजन लिग

पुलिस र फ्रेन्डस पहिलो हाफमा बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस् क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

१२औं मिनेटमा फ्रेन्डसले अग्रता लिने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हरि कठायतको पासमा नथालियन जुड गार्सियाको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले विफल पारेका थिए ।

२९औं मिनेटमा सुमन लामाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदाँ पुलिसले अग्रता लिने अवसर खेर फाल्यो । तेज तामाङको फ्रिकिकमा मानबहादुर परियारले हेडरमार्फत उपलब्ध गराएको पासमा सुमनले गरेको प्रहार बाहिरिएको थियो ।

त्यसको तीन मिनेटपछि सौजन राईले पुलिसलाई खेलमा अघि बढाउने अवसर पाए पनि उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

निरकुमार राईको पासमा फ्रेन्डसका गोलकिपर देव लिम्बु बिट भैसकेको अवस्थामा सौजनको प्रहार बाहिरिएको हो ।

४५औं मिनेटमा रवि पासावानको प्रहार बारमा लागेर फर्कदा पुलिस पुनः एकपटक निराश बनेको थियो ।

पुलिस पाँच खेलमा पाँच अंकसहित १० औं स्थानमा छ भने समान खेलमा मात्र दुई अंक जोडेको फ्रेन्डस १४औं स्थानमा छ ।