महावीर क्लब

महावीर च्याम्पियन

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको काठमाडौं छनोटको उपाधि महावीर क्लबले जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा बालुवाटार क्रिकेट क्बलमाथि १२ रनको जित निकाल्दै महावीरले उपाधि उचालेको हो ।

टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रनको योगफल तयार गरेको थियो । महावीरका लागि सुमन उदयले सर्वाधिक ३३ तथा दिपेन्द्र मैनालीले २८ रनको योगदान गरे । अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् ।

बालुवाटारका लागि सोनु तामाङले सर्वाधिक ३ तथा कौशल पन्डितले २ विकेट लिए ।

दोस्रो इनिङमा १ सय १४ रनको लक्ष्य पछ्याएको बालुवाटारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन मात्रै बनाउन सक्यो ।

बालुवाटारका लागि जभ्याङ लामाले २२, शैशभ केसीले १६ तथा पारस रावलले १५ रन बनाए । यस्तै, साकार अर्यालले अविजित १८ रनको इनिङ खेले ।