एलपिएल

एलपिएलको छैटौं संस्करण माघ २२ गतेदेखि धनगढीमा

धनगढी । धनगढीमा माघ माघ २२ गतेदेखि विद्यालय स्तरको यु-१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) हुने भएको छ ।एलपीएलको धनगढीमा  शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मिति घोषणा गरिएको हो ।

लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सको आयोजनामा माघ २२ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन ७ गते समापन हुनेछ । २०७३ सालदेखि हरेक बर्ष आयोजना हुदैं आएको प्रतियोगिताको छैटौं संस्करणको तयारी पनि अन्तिम चरणमा पुगेको लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

'प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने छ । प्रतियोगितामा विगतका बर्षहरुमा १६ टीमहरुको सहभागीता रहदै आएकोमा यस वर्षदेखि प्रतियोगिताको स्तरलाई थप उच्च बनाउन र सहभागी विद्यालयहरुलाई उच्चतम अवर प्रदान गर्न १० टीमहरुलाई सहभागी गराईएको छ,’ लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष शाहीले भने, ‘सहभागी टीमहरुलाई दुई समुहमा विभाजन गरिनेछ । यसरी विभाजन गर्दा एउटा विद्यालय टीमले ४ वटा लिग चरणकै खेल खेल्न पाउनेछन्, जसबाट विद्यालयहरूभित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुनेछ ।'

प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाईनेछ । लिग कम नकआउट फरम्याटमा खेलाईने प्रतियोगिताको विजेता नगद एक लाख ५० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । उपविजेताले नगद ७५ हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ ।

 प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाईसमेत अवार्ड प्रदान गरिने भएको छ ।