इङ्लिस प्रिमियर लिग

औबामेयाङलाई भित्र्याउन बार्सिलोना तत्पर

बार्सिलोना । खराब फर्मबाट गुज्रिइरहेको स्पेनिस महारथी बार्सिलोनाले टिम बलियो बनाउने अभियानमा आर्सनलका फरवार्ड पिरे इमेरिक औबामेयाङलाई भित्र्याउन तत्परता देखाएको युरोपेली सञ्चार माध्यमहरुले जनाएका छन् ।

आर्सनलले अनुशासन मिचेको भन्दै ३२ वर्षे फरवार्डलाई मंगलबार कप्तानबाट हटाएको थियो । आर्सनलमा कारवाहीमा परेको कारण पनि औबामेयाङलाई क्याम्प नोउ भित्र्याउने प्रयास सहज हुने अपेक्षा गरिएको छ ।

सर्जियो अग्विरोले संन्यासको निर्णय लिएका कारण बार्सिलोना आक्रमणको धार कायम राख्नका लागि पनि नयाँ फरवार्ड अनुबन्ध गर्नुपर्ने अवस्थामा छ ।

तर दी इन्डिपेन्डेन्टका अनुसार औबामेयाङको महंगो पारिश्रमिक भने बार्सिलोनाका लागि चुनौती बन्न सक्छ । साथमा अझैसम्म क्लबको बोर्डले उनलाई भित्र्याउने विषयमा प्रशिक्षक जाभीको सहमति लिइसकेको छैन ।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले मंगलबार पत्रकार सम्मेलनमा औबामेयाङले क्लबका लागि फेरी खेल्ने की नखेल्ने विषयमा प्रष्ट जवाफ दिएका थिएनन् ।

‘हामीले एउटा क्लबको रुपमा लिएको निर्णय एकदमै प्रष्ट छ । उनले हाम्रो अपेक्षा र सहमतिअनुसार प्रतिबद्धता देखाएनन् । यो कुरा बुझ्न कठिन छैन,’ आर्टेटाले भने, ‘एउटा फुटबल क्लबले आफूलाई प्रतिनिधित्व गर्ने हरेक मानिसबाट लगाबका साथै सतप्रतिसत मिहिनेत र इमान्दारी अपेक्षा गर्छ ।’