नेपाली महिला फुटबल

श्रीलंकामाथि फराकिलो जितसँगै नेपाल शीर्ष स्थानमा

काठमाडौं । बंगलादेशको ढाकामा जारी यु १९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकाल्ने क्रममा नेपाली युवा टोलीले बुधबार श्रीलंकालाई ६-० को नतिजामा हराएको छ ।

कमजोर श्रीलंकामाथि पाएको फराकिलो जितपछि नेपाल अंकतालिकामा आयोजक बंगलादेशसँग अंक बराबरी गर्न सफल भएको छ । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी नतिजा निकालेको थियो ।

श्रीलंकाविरुद्ध पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्याे ।

नेपालको पहिलो जितमा फरवार्ड रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले एक/एक गोल गरे ।

खेलको पाँच मिनेटै रश्मिले नेपाललाई अग्रता दिलाइन । त्यसको एक मिनेट बित्न नपाउँदै सविता राना मगरले नेपालको अग्रता दोब्बर पारिन । मेनुका आले मगरले ४३ मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले ३–० को अग्रता लियो ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै फरवार्ड रजनी थोकरले नेपाललाई ४–० को स्थितीमा पुर्याइन् भने सलोनी राना मगरले ५३ औं मिनेटमा पाँचौं गोल गरिन् । खेलको ८५ मिनेटमा रश्मिले फ्रिकिकमा गोल गर्दै नेपाललाई ६–० को फराकिलो जित दिलाइन ।

नेपालले सुरुबाटै श्रीलंकालाई दबाबमा राखेको थियो । अधिकांश समय श्रीलंकाको बक्समा बल राखेको नेपालले केही राम्रा अवसर समेत गुमाएको थियो ।

जितसँगै नेपालले आफ्नो उपाधि आशालाई कायम राखेको छ । 

जितसँगै नेपाल २ खेलबाट ४ अंक बनाउँदै शीर्षस्थानमा आयोजक बंगलादेशसँग अंक बराबरी गर्न सफल भएको छ । 

पराजित श्रीलंका भने एक खेल अघिनै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । १६ गोल खाएको टोली तीन खेलमा अंकविहिन छ ।

एक खेलबाट तीन अंक जोडेको भारत तेस्रो स्थानमा रहँदा दुई खेलबाट तीन अंक बटुलेको भुटान चौथो स्थानमा छ । श्रीलंका भने पुछारमा छ ।

अब, नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा शुक्रबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।