मोन्चेनग्लाडबाचको भ्रमणसँगै बायर्नले नयाँ सिजनको सुरुआत गर्ने 

म्युनिख, (खेलाडी)- बायर्न म्युनिखले लगातार १०औं पटक जर्मन बुन्डेसलिगा उपाधि जित्‍ने अभियानको सुरुआत बोरुसिया मोन्चेनग्लाडबाचको भ्रमणबाट सुरु गर्ने भएको छ । 

आगामी सिजनका लागि शुक्रबार सार्वजनिक गरिएको बुन्डेसलिगा तालिकाअनुसार प्रशिक्षक जुलियन नागेल्सम्यान नयाँ सिजनको सुरुआतमै आफ्नो पूर्व क्लब आरबी लिपजिगसँग पनि आमने सामने हुनेछन् । 

बायर्न म्युनिखका नयाँ प्रशिक्षक नागेल्सम्यानले सेप्‍टेम्बर ११-१२ को सप्ताहन्तमा चौथो चरणको खेलका लागि आफ्नो टोलीलाई लिपजिगको भ्रमण गराउनेछन् । च्याम्पियन टोलीसँग अनुबन्धित हुनका लागि नागेल्सम्यानले लिपजिग छोडेका थिए । 

बायर्नको मुख्य प्रशिक्षकका रुपमा ह्‍यान्सी फ्लिकलाई स्थानान्तरण गरेका नागेल्सम्यानको नेतृत्वमा पनि टोलीले पछिल्ला वर्षहरुमा झै प्रभाव कायम राख्‍ने अपेक्षा गरिएको छ । गत सिजनमा बायर्नले १३ अंकको अन्तरमा लिग उपाधि जितेको थियो । लिपजिग दोस्रो भएको थियो भने बोरुसिया डर्टमण्डले तेस्रो स्थान हासिल गरेको थियो । 

बायर्नले फेब्रुअरी ४-६ को सप्ताहन्तमा लिपजिगलाई लिगको २१औं खेलका लागि निम्त्याउनेछ । जम्मा १८ टोलीको मात्र सहभागिता हुने भएकाले जर्मन बुन्डेसलिगाको सिजनमा ३४ खेल हुन्छन् । जसको अन्त्य अर्को वर्ष मे १४ मा हुनेछ । 

स्टार खेलाडीहरुले भरिपूर्ण टोलीका साथ नयाँ सिजनका लागि तयार रहेको बायर्न प्रतियोगितामा कीर्तिमानी सफलतालाई लम्ब्याउन चाहन्छ । जहाँ आगामी सिजन लिपजिग र डर्टमण्डको उपाधि जित्‍ने प्रयासले पनि निरन्तरता पाउनेछ । 

आगामी सिजनका लागि गत सिजनमा शीर्ष तीन स्थान हासिल गरेका सबै क्लबको नेतृत्व नयाँ प्रशिक्षकले गर्नेछन् । बायर्नको नेतृत्व नागेल्सम्यानले सम्हाल्दा लिपजिग जेसे मार्स्चको नेतृत्वमा हुनेछ । यसैगरी मोन्चेनग्लाडबाच छोडेर आएका मार्को रोज डर्टमण्डको मुख्य प्रशिक्षकका रुपमा प्रतिस्पर्धामा उत्रिनेछन् । 

बायर्नले अगस्ट १३ मा मोन्चेनग्लाडबाचको भ्रमण गर्दै सिजनको सुरुआत गर्दा डर्टमण्डले इन्ट्रयाक्ट फ्रयांकफर्टलाई घरेलु मैदानमा निम्त्याउनेछ । लिपजिगले भने मेइन्जको भ्रमण गर्नेछ ।