जुडोकी सोनियाले पाइन ओलम्पिक खेल्न वाइल्ड कार्ड

काठमाडौं, (खेलाडी)- नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छिन् । 

यसका साथै अहिले सम्म टोकियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने खेल संख्या पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ र तेक्वान्दोको सहभागिता यसअघि नै पक्का भइसकेको थियो । पौडी र एथलेटिक्स अनिवार्य सहभागि हुने भए पनि सुटिङ, तेक्‍वान्दो (पारा) र जुडोले वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेका हुन् । 

सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी गराए । उनले दुई खेलाडी इन्द्रबहादुर श्रेष्‍ठ र सोनियाको लागि पहल गरिएकोमा सोनियाले मात्र वाइल्ड कार्ड प्राप्त गरेको बताए । 

नेपाल पुलिस क्लबमा आवद्ध सोनिया हालै नेपालमा सम्पन्‍न १३औं दक्षिण एशियाली खेलकुदकी कांस्य पदक विजेता खेलाडी हुन् । सोनियाले २०१९ मा बंगलादेशमा भएको जुडो च्याम्पियनसिपमा क्याडेट तर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । २०१९ मा मोरोक्कोमा भएको विश्‍व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २ सय अंक बटुल्न सफल भएकी सोनियालाई त्यही प्रदर्शनसँगै अन्य प्रतिस्पर्धामा उनले गरेको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्रदान गरिएको अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौं खेलाडी भएकी छिन् । यस अघि जुडोबाट १९८८ को शोल ओलम्पिकमा ऋषीराम प्रधान र गंगाबहादुर डंगोलले सहभागिता जनाएका थिए । यस्तै चीनमा भएको बेइजिङ ओलम्पिक २००८ मा देवु थापा र २०१६ को रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए ।