चोटका कारण विकेटकिपर बट्लर श्रीलंकाविरुद्धको शृंखलाबाट वाहिर
लन्डन, (खेलाडी)- दायाँ पिडुलामा चोट लागेका कारण इङ्ल्यान्डका विकेटकिपर जोस बट्लरले श्रीलंकाविरुद्ध जारी सेतो बलको शृंखलाका बाँकी खेल गुमाउने भएका छन् ।
बुधबार कार्डिफमा सम्पन्न पहिलो ट्वान्टी २० खेलमा आठ विकेटको जित हासिल गर्ने क्रममा ३० वर्षे बट्लर घाइते भएका थिए । सोफिया गार्डेनमा इङ्ल्यान्डलाई सहज जितको बाटोमा डोर्याउने क्रममा बट्लरले अविजित ६८ रनको योगदान गरेका थिए ।
एमआरआई स्क्यान गर्दा पिडुलाको मांसपेशी च्यातिएको देखिएपछि उनले तीन खेलको ट्वान्टी २० शृंखलाअन्तर्गत बिहीबार भएको दोस्रो खेल गुमाएका थिए । वर्षाले विथोलेको दोस्रो खेलमा पनि इङ्ल्यान्डले पाँच विकेटको जित हासिल गरेको थियो । दुई टोलीबीचको तेस्रो ट्वान्टी २० खेल शनिबार हुनेछ ।
योर्कसायरका ब्याट्सम्यान डेविड मालानलाई मंगलबारबाट सुरु हुने तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि इङ्ल्यान्डको टोलीमा समावेश गरिएको छ ।