च्याम्पियन्स लिग

लिपजिगविरुद्ध डी ब्रुयना सुरुआती रोजाईमा

लन्डन । च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राती हुने आरबी लिपजिगविरुद्ध मिडफिल्डर केभिन डी ब्रुयना सुरुआती रोजाईमा मैदान उत्रने म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुष्टि गरेका छन् ।

कोभिड १९ पुष्टि भएपछि एक महिनादेखि मैदान बाहिर रहेका डी ब्रुयना शनिबार प्रिमियर लिगमा वाटफोर्डमाथी ३–१ को जित निकाल्दा सब्सिच्युट खेलाडीको रुपमा मैदान उत्रिएका थिए ।

‘डी ब्रुयनालाई कोभिड १९ पुष्टि भएको थियो । त्यसैले उनी केही समय मैदान बाहिर रहे,’ ग्वार्डिओलाले भने, ‘उनले यसअघि वाटफोर्डविरुद्ध केही अन्तिम समय मैदान उत्रिएका थिए । लिपजिगविरुद्ध डी ब्रुयना सुरुआती टोलीमा हुनेछन् ।’

च्याम्पियन्स लिगको समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सिटीले पाँच खेलबाट १२ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले पाँच खेलबाट आठ अंक जोडेको छ । त्यस्तै पाँच खेलबाट चार अंक जोडेको लिपजिग भने तालिकाको तेस्रो स्थानमा छ ।