राखेप

सदस्यसचिव घिसिङलाई एनएनआइपिएको ६ बुँदे ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङसमक्ष ६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा एनएनआइपिएले खेलाडीको सामाजिक सुरक्षासहित विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा खेलाडीको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीलाईमात्र नभई रजत र कास्य पदक विजेतालाई समेत नियमित भत्ताको व्यवस्था, खेलजीवन पछि खेलाडी विदेश पलायन हुनुपर्ने अवस्था रहेकोले स्वदेशमै रोजगारको व्यवस्था मिलाउनु पर्नेलगायतका माग छन् ।

त्यस्तै एनएनआइपिएले खेलाडीलाई खेल क्षेत्रमै रोजगारको व्यवस्था, खेलाडी कल्याणकारी कोषलाई थप मजबुत बनाउनु पर्ने तथा खेलकुद ऐन २०७७ अस्पष्ट रहेकाले राष्ट्रिय कल्याणकारी कोष, २०६८ लाई नै निरन्तरता दिनुपर्नेमा सदस्यसचिव घिसिङको ध्यानाकर्षण समेत गराएको छ ।