साफ यु-१९ महिला च्याम्पियनसिप

यु १९ साफ खेल्न नेपाली टाेली बंगलादेश प्रस्थान

काठमाडौं । बंगलादेशमा साफ यु १९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

बंगलादेशको ढाकामा शनिबारदेखि सुरु हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रशिक्षक हरिओम श्रेष्ठसँगै २३ सदस्यीय टोलीको बिदाई गरेको थियो ।

नेपाली टोली दिउँसो १ः४५ बजे हिमालयन एयरलाइन्सबाट प्रस्थान गरेको हो ।

बिदाईपछि बोल्दै टोलीकी कप्तान अञ्जना रानामगरले मुख्य लक्ष्य भारत र बंगलादेशलाई पराजित गर्ने रहेको बताइन् ।

‘प्रतियोगिताको लागि तयारी राम्रो भएको छ । हाम्रो मुख्य लक्ष्य बंगलादेश र भारतलाई हराउनु हो,’ उनले भनिन् ।

सिंगल राउन्ड रोविन पद्दतीमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागीता रहने छ ।

नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा घरेलु टोली बंगलादेशको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो खेलमा २९ गते श्रीलंका, पुस दुईमा भुटान र चारमा भारतको सामना गर्नेछ ।

लिगका शीर्ष दुई टोलीले पुस सात गते उपाधिका लागि भिड्ने छन् ।

यु १९ महिला टोलीमा अन्जना रानामगर, अन्किता राई, सावित्री किसन, मन्जुकुमारी खड्का, सलोनी रानामगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आलेमगर, रोजिना श्रेष्ठ, सुस्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई, अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन र कुसुम खतिवडा छन् ।