सहिद स्मारक ‘ए’ डिभिजन लिग

स्ट्राइकरको कमि हुँदा गोल गर्न सकेनौंः कटुवाल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध गोलरहित बराबरी खेलेपछि साविक विजेता मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले टोलीको स्ट्राइकर लाइनमा समस्या रहेको बताएका छन् ।

‘स्ट्राइकरको कमि हुँदा हामीले गोल गर्न सकेनौं । आज जित्नैपर्ने खेलमा खेलाडीले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेनन् । खेलाडी नभएका होइनन् तर इन्जुरीका कारण स्ट्राइकिङ लाइनमा केही समस्या देखिएको हो,’ कटुवालले भने, ‘अभिषेक रिजालले प्रशिक्षणमा राम्राे गरे पनि खेलमा त्यस्तो प्रदर्शन गर्न सकेका छैनन् । आर्मीविरुद्धको खेल सधै कठिन नै हुने गर्दछ । पुलिसविरुद्धको खेल हेर्दा खेल सहज हुने अनुमान थियो तर आज आर्मीले राम्रो प्रदर्शन गर्यो ।’

मछिन्द्रले पछिल्लो सिजन आर्मीलाई नै पराजित गर्दै लिगको उपाधि चुमेको थियो ।