सहिद स्मारक ‘ए’ डिभिजन लिग

घरेलु लिगमा आर्मीलाई विदेशी खेलाडीको आवश्यकता पर्दैनः न्याैपाने

काठमाडौं । साविक विजेता मछिन्द्र क्लबसँग साेमबार गोलरहित बराबरीमा रोकिएपछि त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नविन न्यौपानेले घरेलु लिगमा आर्मीलाई विदेशी खेलाडीको आवश्यकता नपर्ने बताएका छन् ।  

यसअघि दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले विदेशी खेलाडीको आवश्यकता देखाइरहँदा न्यौपानेले आर्मीसँगै स्तरिय खेलाडी रहेको बताएका हुन् ।

‘हामीले विदेशी खेलाडीको बारेमा एएफसीको लाइसेन्स पाएदेखि नै कुरा गर्दै आएका छौं । विभागीय टोलीमा माथिल्लो निकायको निर्णय महत्वपूर्ण हुन्छ । हाम्रा खेलाडीहरुमा नै क्षमता छ तर इन्जुरीका कारण समस्या भएको हो,’ न्यौपानेले भने, ‘आर्मीका सबै खेलाडी स्तरिय छन् । यसैकारण अहिलेको आर्मी टोलीलाई घरेलु लिगका लागि विदेशी खेलाडी आवश्यक छ जस्तो लाग्दैन । तर एएफसी तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा भने विदेशी खेलाडीको अभाव खट्किएको देखिन्छ ।’

न्यौपानेले टोलीमा नवयुग श्रेष्ठको कमी देखिएको समेत बताए ।

‘आजको अंक हाम्रा लागि निकै महत्वपूर्ण थियो । रक्षकहरुले आफ्नो भुमिका राम्रोसँग पूरा गरिरहेका थिए । तर अट्याकिङ्गमा गोल गर्न सक्ने मुमेन्टहरु बनाउँन सकेनौं । दिनेश हेम्जन र टंक बस्नेतसहित तीन खेलाडी मैदान प्रवेश गरेसँगै ७० मिनेटपछि मात्र अट्याकिङ्गमा अवसरहरु बनाउँन सक्यौं । तर अवसहरुको सदुपयोग गर्न सकेनौं,’ न्यौपानेले भने, ‘टोली मुख्य रुपमा स्ट्राइकिङ्गमै चुुकिरहेको देखेको छु । पहिलो खेलमा पुलिसविरुद्ध पनि एक गोलमात्र गर्न सक्यौं । नवयुग श्रेष्ठको कमी देखिएको छ । आज मछिन्द्रले धेरै राम्रो फुटबल खेलेको थियो । हामीले मिडफिल्डबाट पनि बल फिजाउँन सकेनौं । आज तीन अंक लिन सकेको भए अझ अघि बढ्न सहज हुन्थ्यो तर अझै केही बिग्रेको छैन । आउँदा खेल तीन अंकका लागि खेल्नेछौं । मछिन्द्र, मनाङ, थ्री स्टारजस्ता महत्वपूर्ण टोलीसँग अंक लिन सकिएन भने उपाधि अभियानमा ठुलो धक्का पर्छ ।’