मेसीलाई कीर्तिमनी सातौं बालन डी अर, लेवान्डोवस्की उपविजेतामा सीमित

पेरिस । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले कीर्तिमानी सातौं पटक बालन डी अर जितेका छन् ।

बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई पछि पार्दै मेसी सात पटक बालन डी अर जित्ने एक्लो खेलाडी बने ।

लेवान्डोवस्की दोस्रो स्थानमै सीमित हुँदा चेल्सीका इटालियन मिड्फिल्डर जोर्जिन्हो तेस्रो, रियाल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा चौथो र एनगोलो कान्टे पाँचौं भए ।

२०१० यता पहिलो पटक शीर्ष तीनभित्र पर्न नसकेका क्रिस्टियानो रोनाल्डो छैटौं स्थानमा सीमित हुँदा लिभरपुलका स्ट्राइकर मोहम्मद सालाह सातौं भए ।

अवार्ड जितेपछि मेसीले भने, ‘दुई वर्षअघि मैले त्यही मेरो अन्तिम बालन डी अर हुने सोचेको थिएँ । तर अहिले फेरी यहाँ आइपुग्दा म निक्कै खुसी छु । नयाँ चुनौतीहरुका लागि म थप उत्साहित छु । यो असाधारण उपलब्धिका लागि म बार्सिलोना, पिएसजी (पेरिस सेन्ट जर्मनं) र खासगरी अर्जेन्टिनाका टिम सहयात्रीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

क्लब स्तरमा सम्भव सबै उपाधि जितिसकेका मेसीले अन्तर्राष्ट्रिय स्तरमा भने अर्जेन्टिनाबाट यसै वर्ष पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेका थिए । जुन उनलाई सातौं पटक बालन डी अर दिलाउने मुख्य आधार बन्यो ।

‘यो उपाधिको मुख्य आधार भनेको हामीले जितेको कोपा अमेरिकाको कारण बनेको हो । त्यसैले अर्जेन्टिनी टिमका साथीहरुलाई धन्यवाद, यो तिमीहरु सबैको उपाधि हो,’ मेसी भावुक भए ।

कोपा अमेरिका जितेर युरोप फर्केपछि बार्सिलोनासँगको लामो करियरमा पूर्णविराम लगाउँदै पेरिस सेन्ट जर्मन (पिएसजी)को बाटो तताएका थिए ।

२०२१ मा मेसीले क्लबका लागि ४० खेलमा ३२ गोल गर्नुका साथै देशका लागि नौं गोल गरिसकेका छन् । अर्जेन्टिनाले कोपा अमेरिकामा सफलता हासिल गर्दा मेसीको नाममा चार गोल थियो ।

२०१९ मा मेसीले जितेको बालन डी अर यसअघिको पछिल्लो संस्करण थियो । गत वर्ष कोभिड १९ महामारीका कारण अवार्ड समारोह रद्ध गरिएको थियो ।

गत वर्ष स्थगित गरिएको अवार्ड लेवान्डोवस्कीले पाउनुपर्ने धेरैको मत रहेकोमा मेसीले पनि त्यसमा बल प्रदान गरे ।

‘रोबर्टसँग प्रतिस्पर्धा गर्न पाउनु आफैमा ठूलो सम्मान हो । गत वर्ष उनी यसको स्पष्ट विजेता थिए । मेरो विचारमा फ्रान्स फुटबलले उनलाई गत वर्षको अवार्ड दिनुपर्छ,’ यसपाली उपविजेता बनेका लेवान्डोवस्कीको विषयमा ३४ वर्षे मेसीले भने ।

मेसीले पुरुषतर्फको अवार्ड जित्दा बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले महिलातर्फको अवार्डमा कब्जा जमाइन ।

युरो २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित इटालीका जियानलुइजी डोनारुमाले उत्कृष्ट गोलकिपरले पाउने यासिन ट्रफी हात पारे । चेल्सीले वर्षको उत्कृष्ट क्लबको उपाधिमा कब्जा जमाउँदा गत सातामात्र १९ वर्षमा प्रवेश गरेका बार्सिलोनाका युवा स्टार पेड्रीले २१ वर्ष मुनीको उत्कृष्ट खेलाडीले पाउने कोपा ट्रफी जिते ।

मुख्य अवार्डमा उपविजेता भएका लेवान्डोलस्कीले पनि खाली हात फर्किनु परेन । पहिलो पटक समावेश गरिएको सर्वोत्कृष्ट अवार्डको सम्मान उनको हात लाग्यो ।