युरोपियन च्याम्पियन्स लिग

रियाल पेनाल्टीमा भाग्यमानी, साविक विजेता सिटी बाहिरियो

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियाल मड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइलनमा प्रवेश गरेको छ ।

सिटी घरेलु मैदान इत्तिहादमा भएको क्वार्टरफाइनलको दोस्रो लेग रियाल पेनाल्टीमा ४–३ ले भाग्यमानी भएको हो । यसअघि समग्रमा दुबै लेग ४–४ को बराबरीमा सकिएको थियो ।

पहिलो लेग ३–३ को बराबरी हुँदा दोस्रो लेग १–१ मा सकिएको थियो । रियालको जितमा गोलकिपर एन्ड्री लुनिन नायक बने । उनले सिटीका बर्नान्डो सिल्भा र माटेओ काभासिकको पेनाल्टी बचाएका थिए । यसअघि सिटीका गोलकिपर एन्डरसनले लुका मोड्रिकको पेनाल्टी बचाएपछि टोलीलाई जिताउन सकेनन् ।

पेनाल्टीमा रियालको लागि जुड वेलिंघम, लुकास भास्क्वेज, नाचो फर्नान्डेज र एन्टोनिओ रुडिगर्डले गोल गरे । सिटीको लागि जुलियन अल्भारेज, फिल फोडेन र एन्डर्सनले गोल गरेका हुन् । 

त्यसअघि निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल बराबरीमा समाप्त भएको थियो । खेलमा अग्रता रियालले बनायो । १२औं मिनेटमा रोड्रिगोले अग्रता बनाएकाह ुन् । केभिन डि ब्रुयनाले ७६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

एकै समयमा भएको अर्काे खलमा आर्सनललाई १–० ले हराउँदै जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख सेमिफाइनलमा प्रवेश गरेको छ । 

बायर्नलाई जित दिलाउन जोसुवा किमिचले खेलको ६३औं मिनेटमा गोल गरेका हुन् । राफेल गुरेइरोले मिलाएको पासमा किमिचले गोल गरेका हुन् ।

लन्डन क्लबविरुद्ध बायर्न समग्रमा ३–२ ले विजयी भएको हो । यसअघि पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । एलिएन्ज रंगशालामा भएको खेलमा बार्यनले ७५ हजार समर्थकको साथ पाएको थियो ।

जर्मन बुन्डेसलिगा गुमाएको बायर्न च्याम्पियन्स लिग उपाधि दौडमा भने फर्किएको छ । ११ वर्ष लगातार जर्मन बुन्डेसलिगा जितेको बार्यनलाई यसपटक बायर लेभरकुसनले उपाधि जित्दै पछि पारेको हो ।  

सेमिफाइनलमा रियाल र बायर्न तथा पेरिस सेन्ट जर्मेन (पिएजसी) र बोरुसिया डर्टमन्ड भिड्नेछन् ।