च्याम्पियन्स लिग

आर्सनललाई हराउँदै बायर्न सेमिफाइनलमा

काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा आर्सनललाई १–० ले हराउँदै जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति बायर्नलाई जित दिलाउन जोसुवा किमिचले खेलको ६३औं मिनेटमा गोल गरेका हुन् । राफेल गुरेइरोले मिलाएको पासमा किमिचले गोल गरेका हुन् ।

लन्डन क्लबविरुद्ध बायर्न समग्रमा ३–२ ले विजयी भएको हो । यसअघि पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । एलिएन्ज रंगशालामा भएको खेलमा बार्यनले ७५ हजार समर्थकको साथ पाएको थियो ।

जर्मन बुन्डेसलिगा गुमाएको बायर्न च्याम्पियन्स लिग उपाधि दौडमा भने फर्किएको छ । ११ वर्ष लगातार जर्मन बुन्डेसलिगा जितेको बार्यनलाई यसपटक बायर लेभरकुसनले उपाधि जित्दै पछि पारेको हो ।