सहिद स्मारक ‘सी’ डिभिजन लिग

मनोहराको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युथ क्लबले पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न खेलमा मनोहराले स्पोर्टस एकेडेमी साँगाविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्यो ।

मनोहरालाई जित दिलाउन उत्तम शाही, विशान्त मगर र आविष्कार खड्काले गोल गरे । सँगाका लागि स्यामुएल सुनार र विकाश परियारले गोल गरे ।

जितसँगै मनोहराले दुई खेलमा तीन अंक जोडेको छ । पराजित साँगाको पनि समान खेलबाट तीन अंक नै छ । पहिलो खेलमा साँगाले झम्सिखेल युथ क्लबलाई १-० ले पराजित गर्दा मनोहरालेसमाज कल्याण खेलकुद केन्द्रसँग ५-० को पराजय ब्यहोरेको थियो ।

खेलको पाँचौं मिनेटमा उत्तमको गोलमार्फत मनोहराले अग्रता लियो । १० मिनेटपछि नै विशान्तले टोलीको अग्रता दोब्बर बनाए ।

३९औं मिनेटमा स्यामुएलले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ७०औं मिनेटमा आविष्कारले पेनाल्टीमार्फत गोल गर्दै मनोहरालाई ३-१ ले अगाडि बढाए ।

इन्जुरी समयमा विकाशले गोल गर्दै साँगालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।