राष्ट्रपति रनिङ सिल्ड

सबै मिलेर राष्ट्रपति रनिङ सिल्ड सफल बनाउन सदस्यसचिवको आग्रह

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउन आग्रह गरेका छन् ।

राष्ट्रपति रनिङ सिल्डमा समावेश राष्ट्रिय खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्यसचिव घिसिङले  प्रतियोगिता सफल बनाउनु सबैको दाहित्व रहेको बताएका हुन्।

‘राष्ट्रपति रनिङ सिल्ड जुनियरको सबै भन्दा ठूलो प्रतियोगिता हो। यसलाई भब्य र सफल बनाउनु हामी सबैको कर्तब्य हो। सबै मिलेर प्रतियोगितालाई सफल बनाउ,’’ सदस्य(सचिव घिसिङले भने, ‘प्रतियोगितासँग सम्बन्धित सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ।’

सदस्यसचिव घिसिङले सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताउदै खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टिमलाई परिचालन गरिने बताए।

सदस्यसचिव घिसिङले सहभागिता, पारदर्शी र जवाफदेहीमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउदै आगामी दिनमा खेलाडीलाई खाना, बसोवास बाहेक भत्ताको पनि व्यवस्था गर्ने परिषद्ले योजना बनाइरहेको बताए।

राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि सुरु हुँदैछ। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु समावेश छ ।